ठडियाः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ मा मापदण्डविपरीतको अलकत्रा प्लान्ट स्थानान्तरण वा बन्द गर्ने बिषयमा स्थानीय बासिन्दा र टुन्डी जे. भी. कम्पनी बीचको बार्ता निष्कर्षमा पुग्न सकेको छैन ।
डाँडागाउँ टोलमा आईतबार दुवै पक्षबीच अलकत्रा प्लान्ट स्थानान्तरण वा बन्द गर्ने विषयमा छलफल भएको थियो । स्थानीयवासीले अलकत्रा प्लान्ट सञ्चालन नगर्न र अन्य गिटी बालुवा ढुङ्गाको प्रशोधनबाट आएको धुलो धुवाँले स्थानीयको आँखा, कान, फोक्सो र स्वासप्रश्वासमा समस्या आई जनस्वास्थ्यमा प्रत्यक्ष असर देखिन थालेकाले स्वास्थ्य परीक्षणको लागि चाँडै स्वास्थ्य शिविर राख्न माग गरेका छन् ।
कसैले पनि अमुक ब्यक्ति वा संस्थाको फाईदाका लागि नागरिकको संवैधानिक र वातावरणीय हक हनन गर्न नहुने भन्दै स्थानीयवासीले स्वास्थ्य शिविरका अलवा कम्पनीको परिसरभित्र र बाहिर वातावरण जोगाउन वृक्षरोपण गर्नुपर्ने, कम्पनीले २५ फिट अग्लो बारबेरा बनाउनुपर्ने, धुलो र ध्वनि नियन्त्रण प्रविधि कम्पनी र टोलमा जडान गर्नुपर्ने, कम्पनीबाट टोलमा आउने फोहोरमैलाको गन्ध व्यवस्थापन गर्नुपर्ने, कम्पनीका कामदारको जथाभावी खानपानको कारण टोलमा असुरक्षा बढेकाले नियन्त्रण गर्नुपर्ने, बस्तीको करिब १०० मिटर सडकमा कालोपत्रे गर्नुपर्ने लगायतका माग अगाडि सारेका छन् ।
स्थानीयवासी र कम्पनीको सम्बन्ध सकारात्मक बनाउन आवश्यक मागलाई भदौ मसान्तसम्म क्रमशः सम्बोधन गर्न तयार रहेको भनी कम्पनीका प्रतिनिधि सस्मित पोखरेलले स्थानीय बासिन्दालाई बताउनुभएको थियो ।





