धरानः भोटेकोशीमा आएको बाढीका कारण देश शोकाकुल भएकोले धरानमा मनाउने तयारी गरिएको ५ दिने नेवारी सांस्कृतिक महोत्सवको गाईजात्रा पर्व बाहेक सबै कार्यक्रम स्थगित गरिएको छ ।
नेपाल खड्गी सेवा समितिद्वारा घिन्ताङ घिसी, हिले जात्रा, बाघ जात्रा, रोपाइँ जात्रालगायत नेवारी सांस्कृतिक पर्व यस वर्ष भव्य रूपमा मनाउने तयारी गरिएको थियो ।
समितिले बुधबार पत्रकार सम्मेलन गरी पितृ उद्धारका लागि गरिने सामूहिक गाईजात्रा बाहेक अन्य सबै जात्रा तथा सांस्कृतिक कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको जानकारी दिएको हो ।
रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धा सुमन अर्पण गर्दै राष्ट्रिय विपद्को अवस्थामा अन्य सांस्कृतिक उत्सव आयोजना गर्नु उचित नहुने भएकाले कार्यक्रम स्थगित गरिएको समितिका अध्यक्ष मनिष खड्गीले जानकारी दिनुभयो ।
समितिले भदौ १३ देखि १७ गतेसम्म घिन्ताङघिसी तथा सामूहिक गाईजात्रा, हिले जात्रा, भानुचोकमा बृहत् रोपाइँ जात्रा, बाघ जात्रा, घोडेजात्रा, क्षमा पूजा तथा मारुनी नृत्यलगायत कार्यक्रम आयोजना गर्ने तयारी गरेको थियो ।





