विराटनगरः परम्परागत राजनीतिक भाषणभन्दा फरक शैलीमा गीत र व्यङ्ग्यमार्फत् जनताको आवाज बोल्ने सोलुखुम्बुका गोम्बु शेर्पा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री बन्नुभएको छ ।
२०३७ साल फागुन २८ गते सोलुखुम्बुको सोताङ गाउँपालिका–२ जुके गाउँमा जन्मिनुभएका गोम्बु बुबा लाक्पा शेर्पा र आमा पेम्बा रिन्जी शेर्पाका सन्तान हुनुहुन्छ । कक्षा ५ मा पढ्दा शिक्षक हीरामान राईको प्रशिक्षण र प्रभावले उहाँ सानै उमेरमा वामपन्थी विचारधारातर्फ आकर्षित हुनुभएको थियो । २०५३ सालमा सगरमाथा मावि बुङको अनेरास्ववियु इकाइ सदस्य भएर उहाँले विद्यार्थी राजनीति शुरु गर्नुभएको थियो । २०५४ सालमा इकाइ उपाध्यक्ष हुँदै इलाका सदस्य बन्नुभएको थियो ।
२०५८ सालमा अखिल (क्रान्तिकारी) सानोठिमी क्याम्पसको सचिव बन्दा देशमा सङ्कटकाल घोषणा भएको थियो । सोही वर्ष भदौमा क्याम्पसको होस्टलबाटै गिरफ्तार भई उहाँ चार दिन हिरासतमा बस्नुभयो । २०५९ सालमा पुनः गिरफ्तार भई १० महिना काठमाडौंको केन्द्रीय कारागारमा राजनीतिक बन्दीका रूपमा जीवन बिताउनुभएको थियो ।
२०६० वैशाखमा जेलमुक्त भएपछि उहाँ नेकपा (माओवादी) को सङ्गठित सदस्य बन्दै २०६० देखि २०६२ सम्म माओवादीद्वारा सञ्चालित ‘रेडियो जनगणतन्त्र पूर्वी प्रसारण सेवा’मा समाचार लेखक, वाचक र कार्यक्रम प्रस्तोताका रूपमा रहनुभएको थियो ।
२०६२ सालमा सोलुखुम्बुको जिल्ला सेक्रेटरी बनेका गोम्बु २०६४ सालमा जिल्ला सह–इन्चार्ज र २०६८ मा इन्चार्ज हुँदै २०६५ सालमा तत्कालीन मन्त्री गोपाल किरातीको स्वकीय सचिव र पर्वतीय प्रशिक्षण विकास समितिको अध्यक्ष बनेर प्रशासनिक अनुभव बटुल्नुभएको थियो ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सोलुखुम्बुबाट उम्मेद्वार बने पनि पराजित उहाँ २०७९ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो
संसदमा जनसरोकारका मुद्दा उठाउँदा गीत गाउने उहाँको मौलिक शैलीले उनलाई ‘गीताङ्गे माननीय’को उपनाम दियो । भ्रष्टाचार, विकृति र विसङ्गतिविरुद्ध गीतकै माध्यमबाट सरकारलाई झक्झक्याउने उहाँ प्रदेश सरकारको मन्त्रालय सम्हाल्ने तहमा पुग्नुभएको हो ।





