Saturday, August 22, 2026
Homeअर्थशेयरशेयर बजार सुधारका लागि धितोपत्र बोर्ड अध्यक्ष गोपाल भट्टका यस्ता छन् योजना

शेयर बजार सुधारका लागि धितोपत्र बोर्ड अध्यक्ष गोपाल भट्टका यस्ता छन् योजना

काठमाडौंः नेपालको पूँजी बजार अब केवल शेयरको किनबेचमा मात्र सीमित रहने छैन । नेपाल धितोपत्र बोर्डले आगामी १० वर्षभित्र नेपाली पूँजी बजारलाई दक्षिण एशियाकै एक अग्रणी र आधुनिक वित्तीय केन्द्र बनाउने गरी ‘पूँजी बजार विकास मार्गचित्र, २०८३’ सार्वजनिक गरेको छ ।

बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले यसलाई “नेपाली अर्थतन्त्रको रूपान्तरणकारी दस्तावेज’’ को संज्ञा दिएका छन् । यस योजनाले पूँजी बजारलाई उत्पादनशील क्षेत्रसँग जोड्ने, विदेशी लगानी भित्र्याउने र नवीनतम प्रविधिको प्रयोगमार्फत् लगानीकर्ताको सुरक्षा गर्ने तीन मुख्य आधार स्तम्भहरूलाई अघि सारेको बोर्डको दाबी छ ।

यस्ता छन् भट्टका चालु आर्थिक वर्षका मुख्य योजनाहरू
बोर्डले चालु आर्थिक वर्षलाई ‘संरचनागत सुधार र संस्थागत सुदृढीकरणको वर्ष’ को रूपमा घोषणा गरेको छ । यस वर्ष कार्यान्वयन हुने मुख्य कार्यहरू यस प्रकार छन् ।

क) कानुनी जगको निर्माणः
विद्यमान धितोपत्र सम्बन्धी ऐन, २०६३ लाई विस्थापित गरी समयसापेक्ष नयाँ ऐन ल्याउन बोर्डले मस्यौदा तयार गरी सरकारलाई बुझाउनेछ । यसमा ‘धितोपत्र बजार व्यवस्थापन ऐन’ र ‘कसूर तथा सजाय सम्बन्धी ऐन’ छुट्टाछुट्टै हुनेछन्, जसले बजारका अपराधीहरूलाई कडा सजायको दायरामा ल्याउनेछ ।

ख) एसएमई प्लेटफर्मको सुरुवातः
यसै वर्षदेखि नेपाल स्टक एक्सचेन्जमा साना तथा मझौला उद्यम (एसएमई) का लागि छुट्टै ‘एसएमई प्लेटफर्म’ सञ्चालनमा आउने भएको छ । यसले साना उद्यमीलाई बैंक ऋणको विकल्पमा बजारबाट पूँजी सङ्कलन गर्ने बाटो खोल्ने भएको छ ।

ग) गैरआवासीय नेपालीलाई प्रवेशः
लामो समयदेखि पर्खाइमा रहेको गैरआवासीय नेपालीहरूलाई दोस्रो बजारमा लगानी गर्न दिने कानुनी र प्राविधिक व्यवस्था यसै वर्ष सम्पन्न गरिने भएको छ । यसबाट बजारमा ठूलो मात्रामा वैदेशिक मुद्रा र लगानी भित्रिने अपेक्षा गरिएको छ ।

घ) कृत्रिम बुद्धिमत्ता र बजार निगरानीः
बजारमा हुने ’इन्साइडर ट्रेडिङ’ र कर्नरिङ रोक्न बोर्डले एआई (कृत्रिम बुद्धिमता)मा आधारित ‘मार्केट सर्भिलेन्स सिस्टम’ सुरुवात गर्नेछ । यसले शंकास्पद कारोबारलाई तत्कालै ट्रयाक गर्नेछ ।

१० वर्षे मार्गचित्र (२०२६–२०३६)ः तीन चरणको रूपान्तरण
बोर्डले सन् २०२६ देखि २०३६ सम्मको समयलाई तीनवटा मुख्य चरणमा विभाजन गरेको छ ।

प्रथम चरणः आधार निर्माण (सन् २०२६–२०२७)
यो चरणको मुख्य उद्देश्य बजारका लागि बलियो ‘फाउण्डेसन’ तयार गर्नु हो ।
संस्थागत पुनर्संरचनाः नेप्से र सिडिएससीको स्वामित्व संरचनामा परिवर्तन गरी यिनीहरूलाई थप व्यावसायिक बनाइनेछ ।
कर्पोरेट बण्ड बजारः ठूला पूर्वाधार आयोजनाका लागि ‘इन्फ्रास्ट्रक्चर बण्ड’ र ‘ग्रीन बण्ड’ जारी गर्ने प्रक्रियालाई संस्थागत गरिनेछ ।
लगानीकर्ता शिक्षाः ‘राष्ट्रिय लगानीकर्ता शिक्षा अभियान’ शुरु गरी गाउँ–गाउँसम्म शेयर बजारको चेतना पुर्याइनेछ ।

दोस्रो चरणः विस्तार र आधुनिकीकरण (सन् २०२८–२०३०)
यो तीन वर्षको अवधिमा बजारमा नयाँ उपकरणहरू र लगानीकर्ताहरूको विविधीकरण गरिनेछ ।
वैकल्पिक लगानीः रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट (च्भ्क्ष्त्क) र इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट ट्रस्ट सञ्चालनमा ल्याइनेछ । यसले गर्दा सर्वसाधारणले साना–साना कित्तामा जग्गा वा ठूला पुल, बाटो जस्ता आयोजनामा लगानी गर्न पाउनेछन् ।
ईटीएफ को सुरुवातः शेयर बजारका विभिन्न क्षेत्रलाई समेटेर ‘एक्सचेन्ज ट्रेडेड फण्ड’ ल्याइनेछ ।
संस्थागत लगानीकर्ताको सशक्तीकरणः कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र बीमा कम्पनीहरूलाई पूँजी बजारमा ‘मार्केट मेकर’ को रूपमा सक्रिय गराइनेछ ।

तेस्रो चरणः अन्तर्राष्ट्रियकरण र पूर्ण डिजिटल बजार (सन् २०३१–२०३५\३६)
अन्तिम चरणमा नेपाली पूँजी बजारलाई विश्वस्तरको बनाइनेछ ।
डेरिभेटिभ बजारको पूर्ण सञ्चालनः कमोडिटी बजार र धितोपत्रको फ्युचर्स तथा अप्सन कारोबार शुरु हुनेछ ।
ग्लोबल कनेक्टिभिटीः नेपाली कम्पनीहरूलाई विदेशमा र विदेशी कम्पनीहरूलाई नेपालमा सूचीकृत हुने बाटो खोलिने प्रयास गरिनेछ ।

पेपरलेस र कन्ट्रयाक्टलेस बजारः सन् २०३६ सम्ममा नेपालको पूँजी बजार पूर्ण रूपमा डिजिटल, पेपरलेस र सम्पर्कविहीन (ऋयलतबअतभिकक) हुनेछ । राफसाफको समय टी प्लस शून्य पुर्याउने लक्ष्य राखिएको छ ।

मुख्य सूचक र लक्ष्यहरू (सन् २०३६ सम्मका लागि)
मार्गचित्रले केही ‘बोल्ड’ लक्ष्यहरू तय गरेको छ, जसले आगामी दश वर्षमा नेपाली पूँजी बजारको आकार कस्तो हुनेछ भन्ने स्पष्ट पार्छ ।
बजार पूँजीकरण र जीडीपी अनुपातः हालको ७०–८० प्रतिशतको अनुपातलाई बढाएर १५० प्रतिशत पुर्याइनेछ ।
सूचीकृत कम्पनीः सूचीकृत कम्पनीहरूको संख्या ५०० भन्दा माथि पुर्याइनेछ, जसमा जलविद्युत र बैंक मात्र नभई उत्पादनमूलक क्षेत्रका ठूला उद्योगहरू पनि सामेल हुनेछन् ।

दैनिक कारोबारः दैनिक औसत कारोबारलाई ३० अर्ब रुपैयाँभन्दा माथि पुर्याउने लक्ष्य छ ।

हितग्राही (डिम्याट) खाताः डिम्याट खाताको सङ्ख्या १.२ करोड पुर्याइनेछ, जसले नेपालका करिब आधा जनसङ्ख्यालाई बजारसँग जोड्नेछ ।

नयाँ बजार संरचनाः एसएमई एक्सचेन्ज र स्टार्टअप बोर्ड
तत्कालका लागि नेप्सेभित्रै ‘एसएमई प्लेटफर्म’ को कुरा गरेको छ भने मार्गचित्रले १० वर्षभित्र छुट्टै ‘एसएमई एक्सचेञ्ज’ र ‘स्टार्टअप बोर्ड’ को परिकल्पना गरेको छ ।
एसएमई एक्सचेञ्जः यो साना कम्पनीहरूका लागि मात्र समर्पित छुट्टै शेयर बजार हुनेछ । यसको नियम र सञ्चालन प्रक्रिया ठूलो बजारभन्दा फरक र खुकुलो हुनेछ, ताकि साना उद्यमीहरू कानूनी झन्झटमा नफसी पूँजी जुटाउन सकून् ।
स्टार्टअप बोर्डः नयाँ र नवीन सोच भएका युवा उद्यमीहरूका लागि यो बोर्डले ‘भेन्चर क्यापिटल’ सँग जोड्ने काम गर्नेछ । यसले गर्दा नेपालमै ‘युनिकोर्न’ कम्पनीहरू जन्मिने वातावरण बन्नेछ ।

लगानीकर्ता सुरक्षा र सुशासनः बोर्डको कडा कदम
नीति र मार्गचित्र दुवैले ‘सुशासन’ लाई केन्द्रमा राखेका छन् । बोर्डले आगामी दिनमा निम्न कार्यहरू गर्नेछ ।
शून्य सहनशीलताः भित्री सूचना चुहाएर लाभ लिनेहरूका लागि कडा जेल सजाय र जरिवानाको व्यवस्था गरिनेछ ।
डिजिटल प्रकटीकरणः कम्पनीका हरेक सूचना लगानीकर्ताले आफ्नो मोबाइलमा तत्कालै पाउने व्यवस्था गरिनेछ ।
गुनासो व्यवस्थापनः लगानीकर्ताका समस्या २४ घण्टाभित्र सुनुवाइ हुने गरी डिजिटल पोर्टल विकास गरिनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments