विराटचोकः नेपालमा हिजोदेखि शेयरको अनलाइन कारोबार प्रणाली (टिएमएस) मा आफ्टर मार्केट अर्डर सुविधा उपलब्ध भएको छ । अब शेयर बजार नखुलेको समय अर्थात् बेलुका ५ बजेदेखि बिहान १० बजेसम्म १५ प्रतिशतसम्म मूल्य घटाएर वा बढाएर खरीद तथा बिक्री आदेश गर्न सकिने भएको छ ।
कार्यालयमा काम गर्ने कर्मचारीका लागि यसले कारोबारमा सहयोग पुर्याउने देखिन्छ । यो सुविधाबाट लगानीकर्ताले नियमित कारोबार समयबाहेक अन्य समयमा पनि सेयर खरिद वा बिक्रीको अर्डर प्रविष्ट गर्न सक्नेछन् । नियमित कारोबार समय बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रहेकाले उक्त समयमा व्यस्त हुने लगानीकर्तालाई यस्तो सुविधा उपयोगी हुने निश्चित छ ।
यस्तो आदेश कारोबार प्रणालीमा हालेपछि सुरक्षित रहने र बजारको कारोबार सत्र सुरु भएपछि तोकिएको प्रक्रियाअनुसार नेप्सेको कारोबार प्रणालीमा पठाइने व्यवस्था गरिएको छ । यसमार्फत् आदेश राख्दा लगानीकर्ताले अघिल्लो दिनको अन्तिम कारोबार मूल्यको १५ प्रतिशतसम्म घटबढ हुने गरी राख्न पाइने भएको छ ।
बजार खुलेपछि हुने प्रि–ओपन सेसनमा अघिल्लो दिनको अन्तिम मूल्यको ३ प्रतिशत मात्रै घटबढ हुने अर्डर शुरुमा स्वतः एक्सचेन्जमा पठाइने भएको छ । सो सीमाभन्दा बाहिरको अर्डर भने तोकिएको मूल्य नआउँदासम्म यथावत रहने र नियमित कारोबार सुरू भएपछि यस्तो अर्डरले अर्को चरणमा काम गर्ने बताइएको छ ।
पछिल्लो कारोबार मूल्यको ३ प्रतिशतको सीमाभित्र पुगेपछि प्रणालीले उक्त अर्डर स्वतः नेप्सेको प्रणालीमा पठाउने भएको छ । त्यसपछि सामान्य कारोबारको अर्डरसरह म्याच हुने प्रक्रियामा जानेछ ।
यस्तो अर्डर केवल लिमिट अर्डरमा अर्थात् मूल्य तोकेर राख्न सकिन्छ । तर, मार्केट अर्डर अर्थात् बजारमा जुन मूल्य चल्छ त्यसैमा कारोबार होस् भनेर मूल्य नतोकी राख्न पाइँदैन । यस्तो अर्डर एक कारोबार दिन (डे भ्यालिडिटी) लाई मात्र लागू हुने हुनाले आफ्नो शेयर कारोबार नभएमा दिनहुँ अर्डर राख्नुपर्ने देखिन्छ ।
खरीद तथा बिक्री आदेश राख्दा खरिदकर्ताको ब्रोकरको खातामा किन्न रकम कोल्याट्रल पर्याप्त राखिएको छ कि छैन र बिक्रीको डिम्याट खातामा आवश्यक शेयर उपलब्ध छ कि छैन भन्ने पनि प्रणालीले स्वतः जाँच गर्नेछ । पर्याप्त कोल्याट्रल वा शेयर नभएमा त्यस्तो आदेश अस्वीकृत हुनेछ ।
खरीद तथा बिक्री आदेश राखिएपछि यसको अवस्था हेर्न टिएमएस प्रणालीको अर्डर म्यानेजमेन्टभित्र रहेको आफ्टर मार्केट्स अर्डरमा जान सकिन्छ ।
अर्डर नेप्सेको एक्सचेन्जमा पठाइनुअघि पेन्डिङ अवस्थामा रहेको भए मूल्य वा कित्ता संशोधन गर्न तथा अर्डर रद्द गर्न सकिनेछ । नेप्सेको एक्सचेन्जको प्रणालीमा पठाइसकेपछि भने त्यसलाई संशोधन वा रद्द गर्न सकिने छैन । रद्द गर्न टिएमएसमै रहेको अर्डर बुकमा गएर अन्य सामान्य अर्डरसरह पूर्ववत् तरिकाले रद्द वा संशोधन गर्न भने सकिने बताइएको छ ।





