विराटचोकः आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्षको अन्तरराष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ ।
सन् २००० देखि संयुक्त राष्ट्र सङ्घको आह्वानमा अगस्ट १२ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय युवा दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा युवाकेन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढाउनु रहेको छ ।
साझेदारी एवम् लगानी अभिवृद्धि गर्ने, युवामैत्री शासन प्रवर्द्धन गर्न सहयोग गर्ने, युवाकेन्द्रित सरकारी, गैरसरकारी, निजी संस्था र निकायहरूबीच सहकार्य र साझेदारी अभिवृद्धि गर्नु कार्यक्रमको उद्देश्य रहेको छ ।
यस दिवसले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता र साझेदारी बढाउने प्ररेणा दिने गर्छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या १ करोड २४ लाख १२ हजार १७३ जना रहेको छ । जुन देशको कुल जनसङ्ख्याको ४२ दशमलव ५६ प्रतिशत हो ।
युवाको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ युवा दिवस मनाउने गरिएको छ ।





