राजविराजः आज बिहान ८ बजेदेखि सप्तरीको राजविराज क्षेत्रमा पनि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । हिजो राति १० बजेदेखि बोदेबरसाईन क्षेत्रमा पनि प्रशासन कार्यालयले कर्फ्यु जारी गरेको छ ।
कार्यालयका अनुसार कर्फ्यु लागू गरिएको क्षेत्रको पूर्वी सीमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गअन्तर्गत जमुनी–थलही, उत्तरमा रुपनी रोडस्थित बसविट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहरसम्म रहेको छ ।
जारी आदेशमा कर्फ्युको उल्लङ्घन हुने कुनै पनि गतिविधि गरे, गराए वा गराइएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने उल्लेख छ ।
सुनसरीको देवानगञ्जमा दुई पक्षबीच भएको झडपका क्रममा दुई जनाको मृत्यु भएपछि त्यसको विरोध मधेस प्रदेशका जिल्लामा समेत देखिन थालेको हो । सोही घटनाको विरोधमा बिहीबार सप्तरीमा प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा गोली लागेर एक जनाको ज्यान गएको थियो । केही क्षेत्रमा आगजनी भएको थियो ।
यसैबीच, सुनसरीमा मृतकका परिवारसँग गृहमन्त्री सुधन गुरुङले आज बिहान ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ ।





