Sunday, July 26, 2026
Homeफिचरभोलिदेखि नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आउने, सवारीअनुसार ६० देखि ६०० रुपैयाँ प्रवेश...

भोलिदेखि नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आउने, सवारीअनुसार ६० देखि ६०० रुपैयाँ प्रवेश शुल्क

काठमाडौंः भोलिदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालन हुने भएको छ । निर्माण शुरु भएको करिब ८० महिनापछि नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सञ्चालनमा आउने भएको हो । झण्डै साढे २७ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको यो सुरुङमार्ग साउन ११ गते सोमबारदेखि चौबीसै घण्टा सञ्चालनमा आउने भएको हो ।

पहिलो दिन एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारीसाधनलाई मात्रै प्रवेश दिइने भएको छ । बाँकी सवारी साधनलाई चरणबद्ध रुपमा प्रवेश गर्न दिइने जनाइएको छ ।

काठमाडौं प्रवेश गर्दा बढी शुल्क, बाहिरिँदा कम
सुरुङ मार्ग प्रयोग गर्ने सवारीका लागि काठमाडौं उपत्यकातर्फ प्रवेश गर्दा र बाहिरिँदा फरक–फरक शुल्क तोकिएको छ । कार तथा भ्यानले प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

मिनीबस तथा टिपरका लागि प्रवेश शुल्क ११५ र बाहिरिँदाको शुल्क ८० रुपैयाँ निर्धारण गरिएको छ । बस तथा ट्रकले प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ । हेभी ट्रकका लागि भने प्रवेश शुल्क ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्ने जनाइएको छ ।

शुल्क सङ्कलनलाई प्रविधिमैत्री बनाउन रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन अर्थात् आरएफआईडीमा आधारित ‘एन–ट्याग’ प्रयोगमा ल्याइने भएको छ । सवारीमा जडान गरिने स्टिकरका माध्यमबाट शुल्क स्वचालित रूपमा भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । प्रारम्भिक चरणमा एक हजार, दुई हजार र पाँच हजार रुपैयाँ मौज्दात भएका एन–ट्याग उपलब्ध हुने भएका छन् । कुमारी बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र सानिमा बैंकमार्फत एन–ट्याग लिन सकिने र प्रारम्भिक चरणमा नगदबाट पनि शुल्क तिर्न सकिने जनाइएको छ ।

कसले प्रवेश पाउँदैन
पैदलयात्री, मोटरसाइकल, तीनपांग्रे तथा नन–मोटोराइज्ड सवारीलाई सुरुङमार्ग प्रवेशमा रोक लगाइएको छ । पेट्रोल, डिजेल र खाना पकाउने ग्यासलगायत अत्यधिक प्रज्ज्वलनशील तथा विस्फोटक पदार्थ बोकेका सवारी पनि सुरुङभित्र जान पाउने छैनन् ।

सुरुङमार्गको सञ्चालन तथा व्यवस्थापन युसिन–एआरटी संयुक्त उपक्रमले पाँच वर्षसम्म गर्ने भएको छ । निर्माणमा संलग्न जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले शुरुवाती एक वर्षसम्म मर्मतसम्भारको जिम्मेवारी लिने भएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते चन्द्रागिरि नगरपालिका–२ को टुटीपाखामा शिलान्यास गरेपछि आयोजना निर्माण शुरु भएको थियो । जापानको करिब २१ अर्ब ५० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको करिब ६ अर्ब रुपैयाँ लगानीमा सुरुङमार्ग निर्माण गरिएको हो ।

नागढुंगा–नौबिसे सुरुङमार्गअन्तर्गत २ हजार ६८८ मिटर लम्बाइ रहेको छ । सुरुआती ठेक्का सम्झौताअनुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै सम्पन्न हुनुपर्ने थियो । ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारणले यो आयोजना निर्माणको कामले गति लिएको थियो ।

बोलपत्रमार्फत युसिन एआरटी कम्पनीले १ अर्ब १० करोड लागतमा पाँच वर्षका लागि सुरुङमार्गको सञ्चालन, व्यवस्थापन र मर्मतसम्भारलगायतको जिम्मेवारी पाएको छ ।

सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनबाट उठेको दस्तुर रकम व्यवस्थापकले सडक बोर्ड नेपालको खातामा दाखिला गर्नुपर्ने जनाइएको छ । सुरुङमार्ग व्यवस्थापन र सञ्चालनमा १५० जना जनशक्ति लाग्ने जनाइएको छ ।

नागढुंगा काठमाडौं उपत्यकालाई देशका पश्चिमी तथा मध्य क्षेत्रसँग जोड्ने प्रमुख नाका हो । यही नाकामा हुने लामो ट्राफिक जामका कारण यात्रु र मालवाहक सवारीले अतिरिक्त समय तथा इन्धन खर्च गर्दै आएका छन् । सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि नागढुङ्गाको उकालो, घुमाउरो सडक र जाम छल्न सकिने भएकाले ढुवानीको समय तथा सञ्चालन लागत घट्ने अपेक्षा सरकारको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments