Monday, July 20, 2026
Homeकृषिलेटाङको वडा नम्बर १ ले गर्यो अगुवा किसान सम्मान र कृषि सामग्री...

लेटाङको वडा नम्बर १ ले गर्यो अगुवा किसान सम्मान र कृषि सामग्री वितरण

लेटाङः मोरङको लेटाङ नगरपालिका वडा नम्बर १ को कार्यालयको आयोजनामा कृषि सामग्री वितरण तथा अगुवा कृषक सम्मान कार्यक्रम राजारानी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा सम्पन्न भएको छ ।

कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाउने, उत्पादन वृद्धि गर्ने तथा उत्कृष्ट कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न कृषि सामग्री वितरण गर्नुका साथै अगुवा कृषकलाई सम्मान गरिएको हो ।

कार्यक्रममा वडा कार्यालयले कृषि समूह तथा व्यक्तिगत रूपमा कृषि व्यवसाय सञ्चालन गरिरहेका लेटाङ–१ का विभिन्न टोलका कृषकलाई आवश्यक सामग्री वितरण गरेको छ ।

जसअन्तर्गत समूहतर्फ कुईकुण्डा, आरुबोटे र अँधेरीलाई ३ वटा हाते ट्याक्टर वितरण गरिएको छ । ती सामग्री उपभोक्ताको ५० प्रतिशत लागत साझेदारीमा ५ लाख ५९ हजार लागतमा खरिद गरी हस्तान्तरण गरिएको वडा कार्यालयले जनाएको छ ।

त्यसैगरी, व्यावसायिक कृषि उत्पादनमा उल्लेखनीय योगदान पुर्याएका अगुवा कृषकलाई पनि प्रोत्साहनस्वरूप कृषि सामग्री प्रदान गरिएको छ । वितरण सूचीअनुसार नारायण लिम्बू (अकबरे खेती), खडककुमार मगर (अलैंची खेती) र यमप्रसाद राई (कफी खेती) लाई १०० केजी क्षमताका डिजिटल काँटा प्रदान गरिएको छ ।

बलबहादुर लिम्बू (तरकारी खेती) लाई १५० केजी क्षमताको डिजिटल काँटा तथा दलबहादुर मगर (मौरीपालन\मिश्रित खेती) लाई हनी स्टोरेज ट्याङ्की प्रदान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मगरले कृषिलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यले वडाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । कृषकलाई आवश्यक कृषि औजार तथा उपकरण उपलब्ध गराएर उत्पादन वृद्धि, श्रमको बचत र आम्दानी वृद्धि गर्ने लक्ष्य रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा जनप्रतिनिधि, किसान, कृषि समूहका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता प्रोत्साहनमूलक कार्यक्रमले कृषिमा नयाँ ऊर्जा थप्ने र व्यवसायिक खेती विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रमको अध्यक्षता लेटाङ नगरपालिका–१ का वडाध्यक्ष विष्णुकुमार मगरले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन वडा सचिव धनमान तामाङले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments