विराटचोकः साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष शुरु भएसँगै नयाँ बजेट पनि कार्यान्वयनमा आएको छ । नयाँ बजेट कार्यान्वयनसँगै सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको बजेटमार्फत् बढाइएको सरकारी कर्मचारीको तलब पनि आजदेखि कार्यान्वयनमा आएको छ ।
सरकारले कर्मचारीको तलब २१ प्रतिशत बढाउने घोषणा बजेटमा गरेको थियो । जसअनुसार अब मुख्य सचिवले ९८ हजार ४२५ रुपैयाँ तलब पाउनेछन् । मुख्य सचिवको बेसिक तलब ७७ हजार २११ रुपैयाँबाट बढेर ८४ हजार ९३२ रुपैयाँ पुगेको छ । त्यसमा १० प्रतिशत प्रोत्साहन भत्ता र यसअघिको महँगी भत्ता थपिँदा कुल मासिक पारिश्रमिक ९८ हजार ४२५ रुपैयाँ पुगेको हो ।
मुख्य सचिवको बेसिक तलब ७ हजार ७२१ रुपैयाँले बढ्दा सचिवको तलब ७ हजार २०८ रुपैयाँले बढेर ९२ हजार २१९ रुपैयाँ पुगेको छ । नयाँ तलब स्केल अनुसार सचिवको अब ७९ हजार २९० रुपैयाँ आधारभूत तलब रहेको छ भने ७ हजार ९२९ रुपैयाँ प्रोत्साहन भत्ता र ५००० रुपैयाँ महँगी भत्ता रहेको छ ।
त्यस्तै सहसचिवको आधारभूत तलब ५ हजार ६७८ रुपैयाँले बढेर ६२ हजार ४६५ रुपैयाँ पुगेको छ । त्यसमा प्रोत्साहन भत्ता र महँगी भत्ता समेत जोड्दा कुल ७३ हजार ७२१ रुपैयाँ पुगेको छ ।
उपसचिवको तलब ४ हजार ८७३ रुपैयाँले बढेको छ भने अधिकृतको ४ हजार ३६८ रुपैयाँले बढेको छ । नायब सुब्बाको ३ हजार ४७३ रुपैयाँ, खरिदारको ३ हजार २९० रुपैयाँ र कार्यालय सहयोगीको २ हजार ७६१ रुपैयाँले तलब बढेको छ ।





