इटहरीः उद्योग वाणिज्य संघ इटहरीको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । नेतृत्व हात पार्न गायत्री कटुवाल भण्डारी र नवराज काफ्लेबीच प्रतिष्पर्धा हुने भएको हो ।
दुवै उम्मेद्वार प्यानल बनाएर नेतृत्व हात पार्ने दाउमा छन् । नवराज काफ्ले नेकपा एमाले र नेपाली कांग्रेस समर्थित व्यवसायीको प्यानल बनाएर मैदानमा खडा हुनुभएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थनमा गायत्री कटुवाल भण्डारी चुनावी मैदानमा हुनुहुन्छ ।
भण्डारी यसअघि नेपाली कांग्रेसको आधिकारिक उम्मेद्वार हुनुहुन्थ्यो । यस पटक पनि कांग्रेसबाटै उम्मेद्वार बन्ने तयारीमा रहे पनि कांग्रेसले गायत्रीको नाममा सहमति नगरी नवराजलाई उम्मेद्वार बनाएपछि रास्वपा र नेकपाको समर्थनमा भण्डारी मैदानमा उत्रिनुभएको हो ।
एसोसिएट तर्फका उम्मेदवार विनोद पौडेल सर्वसम्मत निर्वाचित भइसकेका छन् । अन्य पदमा भने प्रतिष्पर्धा हुने भएको हो ।
भण्डारीको प्यानलमा उद्योगमा एक जना, महिलामा दुई र वाणिज्यतर्फ ४ जनाको उम्मेद्वारी परेको छ । वाणिज्यतर्फ ९ जना निर्वाचित हुन्छन् ।
काफ्लेको नेतृत्वमा गठबन्धन गरी प्यानलै घोषणा भएको छ । गठबन्धनमा कांग्रेसले अध्यक्ष र कोषाध्यक्ष पाउँदा एमालेले वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा उम्मेद्वारी दिएका छन् ।





