विराटचोकः अहिले देशका सातै प्रदेशका विभिन्न भेगमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार अहिले देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मधेस प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभरका अधिकांश स्थानमा बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भू–भाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति देशभर साधारणतया बादल लाग्ने र देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा र कोशी प्रदेशको पहाडी, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाउँदै सतर्क रहन विभागले अनुरोध गरेको छ ।





