Friday, June 19, 2026
Homeप्रविधियुवालक्षित एआई तालिम सम्पन्न, आगामी वर्ष थप बजेट विनियोजन गर्ने नगरप्रमुखको घोषणा

युवालक्षित एआई तालिम सम्पन्न, आगामी वर्ष थप बजेट विनियोजन गर्ने नगरप्रमुखको घोषणा

विराटचोकः युवाहरूलाई आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्यले आयोजित एआई तथा कन्टेन्ट क्रिएटर तालिम सम्पन्न भएको छ ।

इष्ट नेटवर्क प्रालिको आयोजना तथा सुन्दरहरैंचा नगरपालिकाको सहयोगमा सञ्चालन गरिएको उक्त तालिममा ३० जना युवाको सहभागिता रहेको थियो । जेठ २८ गतेदेखि असार १ गतेसम्म सञ्चालन भएको तालिममा प्रशिक्षक सुरेशचन्द्र दाहालले कृत्रिम बुद्धिमत्ता, डिजिटल कन्टेन्ट निर्माण तथा एआईका विविध प्रयोगसम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

तालिमका क्रममा सहभागीहरूले एआईका विभिन्न टुल्स तथा प्रविधिबारे सैद्धान्तिक ज्ञान हासिल गर्नुका साथै प्रयोगात्मक अभ्याससमेत गरेका थिए । बदलिँदो प्रविधिसँग युवालाई परिचित गराउँदै उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

सुन्दरहरैंचा उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित समापन समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै केदारप्रसाद गुरागाईँले सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ताको युगमा युवालाई समयानुकूल सीप प्रदान गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले नगरपालिकाले यस्ता सीपमूलक तथा प्रविधिमैत्री कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गर्दै आगामी आर्थिक वर्षमा थप तालिम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले युवालाई प्रविधिप्रति सचेत र दक्ष बनाउनु आजको आवश्यकता भएको बताउनुभयो । उहाँले कृत्रिम बुद्धिमत्ता लगायतका नयाँ प्रविधिको सही प्रयोगले रोजगारी, उद्यमशीलता तथा सिर्जनात्मक क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न सक्ने धारणा राख्नुभयो ।

तालिममा सहभागी प्रशिक्षार्थीहरू रक्षा भण्डारी र प्रदीप ओझाले तालिम अत्यन्त फलदायी र उपयोगी भएको प्रतिक्रिया दिनुभयो । तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गरी व्यक्तिगत तथा व्यावसायिक विकासमा उपयोग गर्ने उहाँहरूको भनाइ थियो ।

युवालाई डिजिटल युगका अवसरसँग जोड्दै प्रविधिमैत्री जनशक्ति उत्पादन गर्ने उद्देश्यले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यापक बनाइने आयोजकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments