विराटचोकः माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज असार ३ गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ ।
सो कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये ८ लाख ६० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र १ लाख ७२ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरी बाँडफाँट भइसकेको छ ।
त्यस्तै, कम्पनीले ३४ हजार ४०० कित्ता शेयर कर्मचारीका लागि र ८६ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ ।
बाँकी रहेको १४ करोड २७ लाख ६० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री शुरु हुने भएको हो ।
सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा असार ८ गते र ढिलोमा असार १७ गते हुने सो कम्पनीको शेयर निस्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडले जनाएको छ ।
कम्पनीले सञ्चालन गरेको १२ मेगावाटको दूधकुण्ड खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ९३ लाख २० हजार ४२ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड ७४ लाख ४३ हजार ३३६ रुपैयाँ ८३ पैसा रहेको छ । सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २८ वर्ष ९ महिना बाँकी रहेको छ । यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.४० वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ८.९४ वर्ष रहेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलका अनुसार लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सकिनेछ ।




