विराटचोकः हिजोदेखि शुरु २०२६ को विश्वकपमा रातो कार्ड पाउने खेलाडीले अर्को एक खेल खेल्न पाउने छैनन् । रातो कार्ड पाउने खेलाडीका लागि एक खेलको प्रतिबन्ध लाग्ने नियम बनाइएको छ ।
यो नियम सिधै रातो कार्ड पाउने वा दुईवटा पहेंलो कार्ड खाएर मैदान बाहिरिने दुवै खेलाडीका हकमा लागू हुने भएको छ । फिफाले आवश्यक ठानेमा गल्तीको गम्भीरता हेरेर एक खेलभन्दा बढीको प्रतिबन्ध वा अन्य थप कारबाही पनि गर्न सक्ने अधिकार दिइएको छ ।
जारी विश्वकपको उद्घाटन खेलमै तीनवटा रातो कार्ड देखाइएको छ । जसका कारण तीन जना खेलाडीहरूले आफ्नो टोलीको आगामी खेल खेल्न पाउने छैनन् । दक्षिण अफ्रिकाका स्पेफेलो सिथोले र थाम्बा ज्वानेले चेक गणतन्त्र विरुद्धको खेल खेल्न पाउँदैनन् । मेक्सिकोका डिफेन्डर सेसार मोन्टेसले दक्षिण कोरिया विरुद्धको खेल खेल्न नपाउने भएका छन् ।
खेलाडीले फरक–फरक खेलमा गरी दुईवटा पहेंलो कार्ड पाएमा पनि अर्काे एक खेलको प्रतिबन्ध लाग्नेछ । समूह चरण सकिएपछि पहेंलो कार्डको गणना शून्य हुन्छ । क्वार्टर–फाइनल सकिएपछि फेरि पहेंलो कार्डको गणना शून्य बनाइने भएको छ ।
सेमीफाइनलमा एउटा पहेंलो कार्ड पाएको खेलाडीले पहिलेको कार्डका कारण फाइनल खेल खेल्न नपाउने नियम बनाइएको छैन ।
यी हुन् हालसम्म रातो कार्ड पाउने खेलाडीहरुः
१. स्पेफेलो सिथोले (दक्षिण अफ्रिका)
२. थाम्बा ज्वाने (दक्षिण अफ्रिका)
३. सेसार मोन्टेस (मेक्सिको)




