विराटचोकः आजदेखि सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक साधारण शेयर (आईपीओ) जारी गरेको छ ।
धितोपत्र बोर्डबाट सो कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै, कम्पनीले ४२ हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ ।
१७ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याई बाँकी रहेको ७ करोड ५ लाख ५० हजार रुपैयाँबराबरको ७ लाख ५ हजार ५०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि आजदेखि बिक्री शुरु भएको हो ।
सो कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सर्वसाधारण लगानीकर्ताले असार २ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ११ गतेसम्म लम्बिने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।




