विराटचोकः सुरक्षा प्रविधिसम्बन्धी कम्पनी टेन्डी टेक्नोलोजिजले नयाँ ‘एआई एनभीआर’ तथा आधुनिक सिसी क्यामेरा प्रणाली सार्वजनिक गरेको छ ।
हिजो मोरङको सुन्दरहरैँचा–१२ स्थित पानस पार्टी प्यालेसमा आयोजित कार्यक्रममा कम्पनीले अत्याधुनिक सुरक्षा प्रविधियुक्त उपकरण सार्वजनिक गरेको हो । सुन्दरहरैँचाका नगरप्रमुख केदारप्रसाद गुरागाईंको प्रमुख आतिथ्यतामा सो कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा बोल्दै कम्पनीका नेपाल प्रमुख नवीन भण्डारीले आधुनिक सुरक्षा प्रणालीलाई थप प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यसहित नयाँ प्रविधि नेपाली बजारमा ल्याइएको बताउनुभयो । कम्पनीका अनुसार एआई प्रविधियुक्त एनभीआरमा उच्चस्तरीय फेस रिकग्निसन, स्मार्ट डिटेक्सन तथा उच्च डिकोडिङ क्षमता रहेका छन् ।
यी सिसी क्यामेराहरू सुरक्षा निकाय, सार्वजनिक स्थल तथा सडक सुरक्षा क्षेत्रमा उपयोगी हुने जनाइएको छ । नयाँ एआई प्रणालीमार्फत अनुहार पहिचान, दृश्य विश्लेषण तथा शंकास्पद गतिविधि पहिचान गर्न सकिने कम्पनीले जनाएको छ ।
कार्यक्रममा सहभागीहरूलाई उत्पादनका विशेषता, प्रयोग विधि तथा सुरक्षा क्षेत्रमा यसले पार्ने प्रभावबारे जानकारी गराइएको थियो । कार्यक्रममा सुरक्षा प्रविधिसँग सम्बन्धित व्यवसायी, प्राविधिक तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
टेन्डी टेक्नोलोजिजको अधिकृत बिक्रेता हाइटेक इन्टरनेशनल मार्फत् उक्त उत्पादन नेपाली बजारमा उपलब्ध गराइने जानकारी दिइएको छ ।
कार्यक्रमको आयोजना क्वालिटी आईटी सोलुसन सुन्दरहरैंचाले गरेको थियो ।




