विराटचोकः सशस्त्र प्रहरी फुटबल क्लब एपीएफलाई हराउँदै धरान फुटबल क्लब मोरङको सुन्दरहरैंचा नगरपालिकामा हिजोदेखि शुरु भएको प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैंचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ ।
हिजोको उद्घाटन खेलमा एपीएफ फुटबल क्लबलाई २–० गोल अन्तरले धरानले पराजित गरेको हो ।
प्रतियोगिताको उद्घाटन समारोहका सभापति संविधानसभा सदस्य चन्द्रबहादुर गुरुङले रेफ्रीलाई बल हस्तान्तरण गरेर खेलको उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
पराजयसँगै एपीएफ प्रतियोगिताबाट बाहिरिएको छ । विजयी धरान फुटबल क्लबले भोलिको खेलको विजेतासँग सेमीफाइनल खेल खेल्नेछ । भोलि सतिसाले स्पोर्टिङ क्लब र बिर्तामोड युनाइटेड झापाबीच प्रतिष्पर्धा हुनेछ ।
सुकुना खेलचौरीमा भइरहेको प्रतियोगिताअन्तर्गत आजको खेल भारतको खर्साङको युकेएफसी क्लब र सलहेश युथ क्लब सिरहाबीच हुने आयोजक सुन्दर खोर्साने युवा क्लबले जनाएको छ ।




