सम्पादकीय
कानुनी व्यवस्थाअनुसार कसैको पनि बैंक खाताको विवरण अनुसन्धानको लागि अदालत वा नियामक निकायले माग्दा मात्रै प्रक्रिया पूरा गरेर दिन पाइन्छ । खातावाल व्यक्ति स्वयम्ले फोनबाट खातासम्बन्धी विवरण माग्दा समेत वित्तीय संस्थाले फोनमा जानकारी दिन नमिल्ने बताउँछन् ।
तर, ग्लोबल आईएमई बैंकले भने राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको बैंक खाता विवरण केही सञ्चारकर्मीलाई उपलब्ध गराउनुका साथै रकम जम्मा गरेको भौचरको तस्बिर र भिडियो समेत खिच्न दिएपछि बैंकको विश्वसनीयतामा प्रश्न उठेको छ ।
ग्यालेक्सी फोर के टिभी सञ्चालक संस्था गोरखा मिडियाको शेयर नामसारीको विषयमाथि समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई बैंकले लामिछानेको बैंक खाताको विवरण उपलब्ध गराएको हो ।
सो बैंकले यसअघि नयाँ बानेश्वरमा संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यकी श्रीमतीको नाममा रहेको बैंक खातामा जम्मा भएको रकम पनि सार्वजनिक गरेको थियो । सो क्रममा बैंकलाई कुनै कारवाही भएको थिएन । अहिले फेरि बैंकले सोही प्रकृतिको कार्य दोहोर्याएको पाइएको छ ।
रविको शेयर बाँडफाँडसम्बन्धी विषय सम्बन्धित निकायले छानबिन गर्ला तर व्यक्तिको गोपनीयताको हकको उल्लङ्घन गरेको हुनाले बैंक कारवाहीको भागीदार बन्नुपर्दैन र ?