काठमाडौंः इन्टरपोलले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारीका लागि थप कागजात माग गरेको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्टरपोलले थप कागजातको विवरण एनसीबी (नेसनल सेन्ट्रल ब्युरो) काठमाडौंसँग माग गरेको हो ।
गत २४ चैतमा देउवा दम्पत्तीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले उनीहरूविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएसँगै देउवा दम्पत्तिलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको थियो ।
देउवा दम्पत्तिविरुद्ध रेड नोटिसका लागि एनसीबी काठमाडौं (नेसनल सेन्ट्रल ब्युरो)ले औपचारिक रूपमा इन्टरपोललाई पत्राचार गरेको थियो । तर इन्टरपोलले भने कागजात नपुगेको भन्दै रेड नोटिस जारी गरेको छैन ।
चुनावको पूर्वसन्ध्यामा १४ फागुनमा देउवा दम्पती उपचारका लागि भन्दै सिंगापुर उडेका थिए । त्यहाँबाट उनीहरू ७ चैतमा हङकङ गएको बताइएको छ ।
त्यसपछि उनीहरु अहिलेसम्म फर्किएका छैनन् ।




