विराटचोकः चालु आर्थिक वर्षको ९ महिनामा गरिमा विकास बैंकले राम्रो वित्तीय प्रदर्शन गरेको छ । ९ महिनामा राष्ट्रिय स्तरका विकास बैंकहरुले ५ अर्ब ५० करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो नाफा गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा ४९ प्रतिशत बढी हो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म राष्ट्रिय स्तरका विकास बैंकहरुले ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ नाफा कमाएका थिए । विकास बैंकहरुको खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार देखिएको छ । राष्ट्रिय स्तरका ८ वटै विकास बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा उल्लेख्य बढेको छ ।
सबैभन्दा बढी नाफा गरिमा विकास बैंकले १ अर्ब ४ करोड रुपैयाँ कमाएको छ । यो नाफा गत आवको तुलनामा ४२.९१ प्रतिशत बढी हो ।
मुक्तिनाथ विकास बैंकले ९४ करोड २६ लाख, शाइन रेसुङ्गाले ७८ करोड ८४ लाख, कामना सेवा विकास बैंकले ५८ करोड ८६ लाख, ज्योति विकास बैंकले ६२ करोड ९४ लाख, महालक्ष्मी विकास बैंकले ४५ करोड ९९ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले ४८ करोड ४५ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकले ५६ करोड १६ लाख रुपैयाँ नाफा कमाएका छन् ।
सबैभन्दा बढी नाफा प्रतिशत बढाउनेमा भने लुम्बिनी विकास बैंक रहेको छ । बैंकको नाफा १०२८.२६ प्रतिशतले बढेको छ । ९ महिनामा सो बैंकले १६ अर्ब ४२ करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी गत आवको सोही अवधिसम्मको तुलनामा ६.२४ प्रतिशत बढी हो ।
विकास बैंकहरुको ब्याज आम्दानी, नाफा र इपीएसमा उल्लेख्य सुधार देखिए पनि खराब कर्जा अनुपात (एनपीएल)मा भने अपेक्षित सुधार देखिएको छैन । गरिमा विकास बैंक र लुम्बिनी विकास बैंकबाहेक सबैको एनपीएल गत आवको तुलनामा बढेको छ ।
सबैभन्दा बढी इपीएस गरिमा विकास बैंकको रहेको छ । यो बैंकको इपीएस २३.२१ रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिसम्म बैंकको इपीएस १७.२२ रुपैयाँ थियो ।
सबैभन्दा बढी लाभांश क्षमता लुम्बिनी विकास बैंकको १७.४० प्रतिशत रहेको छ । कामना सेवाको १४.१५ प्रतिशत, गरिमाको १३.८९ प्रतिशत, शाइनको १२.५० प्रतिशत, सांग्रिलाको ७.०४ प्रतिशत, मुक्तिनाथको ७.०२ प्रतिशत, महालक्ष्मीको ३.२५ प्रतिशत रहेको छ । ज्योति विकास बैंकको लाभांश क्षमता ९.८९ प्रतिशत ऋणात्मक छ ।



