विराटचोकः इन्द्रपुर जेसीजको २५ औँ वार्षिकोत्सवको अवसरमा संस्थापक सदस्य सम्मानित भएका छन् । कार्यक्रममा संस्थाको स्थापना र विकासमा महत्वपूर्ण योगदान पुर्याउने संस्थापक सदस्यहरूलाई सम्मान गरिएको थियो ।
उहाँहरूको समर्पण, नेतृत्व र मार्गदर्शनकै कारण संस्था आजको अवस्थामा आइपुगेको भन्दै वक्ताहरूले संस्थापकहरुको उच्च प्रशंसा गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका प्रमुख तथा इन्द्रपुर जेसीजका पूर्व अध्यक्ष केदारप्रसाद गुरागाईंले संस्थापक सदस्यहरूको योगदानलाई स्मरण गर्दै उहाँहरूले राखेको सुदृढ आधारकै कारण संस्था दीर्घकालीन रूपमा सफल बन्न सकेको उल्लेख गर्नुभयो । उहाँले यस्ता सम्मान कार्यक्रमले नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।
विशिष्ट अतिथिका रूपमा सिनेटर भोलेश्वर दुलालको उपस्थिति रहेको थियो । साथै विराटनगर जेसीजका सन् २००२ र २०२६ का अध्यक्षहरूको समेत सहभागिता रहेको थियो ।
महासचिव प्रभा ढकाल र कार्यक्रम संयोजक निर्मल अधिकारीले सञ्चान गर्नुभएको कार्यक्रममा बोल्दै इन्द्रपुर जेसीजका अध्यक्ष समीर बस्नेतले संस्थापक सदस्यहरूको योगदानलाई स्मरण गर्दै उहाँहरूको प्रेरणाले आगामी दिनमा संस्थालाई अझ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमअन्तर्गत नयाँ सदस्यलाई प्रमाणपत्र वितरण, पूर्व अध्यक्षहरूबीच अनुभव आदान–प्रदान, क्यालेन्डर विमोचन भएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्ति, पूर्व अध्यक्षहरू, सदस्य तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।



