विराटचोकः शुक्रबार सुन्दरहरैँचा नगरपालिकाको तेह्रौँ नगरसभा सम्पन्न भएको छ । नगरप्रमुख केदारप्रसाद गुरागाईँको अध्यक्षतामा भएको नगरसभाले आर्थिक ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक २०८० सर्वसम्मत पारित गरेको छ ।
नगरपालिकाले अस्वाभाविक रुपमा करवृद्धि गरेको भन्दै सुन्दरहरैंचाका विभिन्न राजनीतिक दलले आन्दोलन गरेपछि नगरले विज्ञसहितको समिति गठन गरी करको दरको विषयमा मूल्याङ्कन गरी कर घटाउन सिफारिश गरिएको थियो । सो सिफारिशलाई कार्यपालिका बैठकले पास गरी नगरसभामा प्रस्तुत गरेको थियो ।
सो विधेयकमा जग्गाको वर्ग विभाजन गरी नयाँ मूल्याङ्कन गरिएको छ । यस्तै घरको पनि मूल्याङ्कन गरी नया दर कायम गरिएको छ । भूमिकर मालपोत करलाई पनि संशोधन गरिएको छ । व्यवसाय कर, घर नक्सा पास दस्तुर, घर बाटो सिफारिसलाई संशोधन गरिएको छ । अघिल्लो आर्थिक वर्षको भन्दा अधिकतम २५ प्रतिशत नबढ्ने गरी करको समायोजन गरिएको नगरप्रमुख गुरागाईँले बताए ।
नगरसभाले सुन्दरहरैंचा प्रज्ञा प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको विधेयक २०८० तथा विद्यालय शिक्षा नियमावली २०८० लाई पनि सर्वसम्मत पारित गरेको छ ।