विराटचोकः ७ वर्षपछि आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । गणनाका लागि देशभर गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।
स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुने र गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिने बताइएको छ ।
गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिने भएको छ ।
वि.सं. २०७५ मा पहिलो पटक राष्ट्रिय आर्थिक गणना गरिएको थियो । सो गणनामा देशभर ९ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेको विवरण सार्वजनिक भएको थियो ।
आजदेखि शुरु हुने आर्थिक गणनामा देशभर दर्ता भएका तथा नभएका ठूला साना व्यापारिक प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार भएका प्रतिष्ठान, अन्य उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताललगायतको गणना गरिने भएको छ ।



