विराटचोकः नेपाल धितोपत्र बोर्डले शेयर बजार परिसूचक (नेप्से) मा उच्च अङ्कको उतारचढाव नियन्त्रण गर्ने (सर्किट ब्रेकर) केही खुकुलो बनाउने भएको छ । हाल ६ प्रतिशतको सीमालाई बढाएर ८ प्रतिशत पुर्याइने भएको छ ।
बोर्डले नेप्सेको कारोबार विनियमावलीको संशोधनलाई अन्तिम रूप दिँदै सर्किट ब्रेकरको सीमा थप २ प्रतिशत बिन्दुले बढाउने भएको हो । पूर्व अर्थमन्त्री रामेश्वर खनालको पहलमा गठन भएको सेयर बजार सुधार सुझाव कार्यदलको सुझावअनुसार सर्किट ब्रेकरको सीमा परिवर्तन हुन लागेको हो । बोर्डका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित कार्यदलले हाल प्रचलनमा रहेको नेप्से सूचकांङ्लाई इक्वीटी इन्डेक्सको रूपमा कायम राखी कारोबारयोग्य शेयरहरूको आधारमा नयाँ सूचकाङ्क विकास गरी त्यसलाई बेञ्चमार्क सूचकाङ्कको रूपमा प्रयोग गर्ने र सोही आधारमा सर्किट ब्रेकरको नियम पुनरावलोकन गर्न सुझाएको थियो ।
हाल कारोबारको पहिलो एक घण्टाभित्रमा ४ प्रतिशत नेप्से बढेमा वा घटेमा पहिलो सर्किट ब्रेक लाग्छ र कारोबार २० मिनेट स्थगित हुन्छ । त्यस्तै दोस्रो पटक खुलेको बजारमा ५ प्रतिशत नेप्से बढेमा वा घटेमा दोस्रो सर्किट ब्रेक लाग्छ र ४० मिनेटसम्मका लागि कारोबार स्थगित गरिन्छ । त्यसपछि खुलेको बजार सूचकमा ६ प्रतिशतको वृद्धि वा गिरावट भएको खण्डमा दिनभरीका लागि कारोबार हुने गर्छ ।
नयाँ प्रस्तावअनुसार सर्किट ब्रेक लाग्ने दरको सीमा ४, ६, ८ प्रतिशतमा रहेको बताइएको छ ।



