Monday, April 6, 2026
Homeफिचरशेयर लगानीकर्ताको गुनासो ‘चुपचाप घण्टी छाप, पोर्टफोलियो भयो हाफ’

शेयर लगानीकर्ताको गुनासो ‘चुपचाप घण्टी छाप, पोर्टफोलियो भयो हाफ’

खेमचन्द्र अधिकारी
विराटचोकः रास्वपाले सत्ता सम्हालेदेखि पूँजी बजारले ओरालो गति लिएको छ । ‘पूँजी बजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाइने छ, भनी आफ्नो वाचापत्रको ३३ आँै बुँदामा समावेश गरेको रास्वपाको सरकार आएपछि शेयरबजार बढ्नेमा लगानीकर्ता आशावादी थिए ।

तर, लगानीकर्ताको अपेक्षा र अनुमानविपरीत सरकार गठनपछि शेयर बजार नराम्ररी ओरालो लाग्यो । बीचमा दुई दिन केही सम्हालिए पनि लगातार बजार घटिरहने क्रममा हिजो त झन् १०५ अङ्कभन्दा बढी नेप्से सूचक झरेपछि एक सातामा शेयर बजारले डबल सेन्चुरी (२०० अङ्क) भन्दा बढीले ओरालो यात्रा तय गरेको छ । रास्वपाको वाचापत्रमा लगानीकर्ताले विश्वास गरेर मतदान गरे पनि त्यस अनुरूप लगानीकर्ताको विश्वास जगाउन सरकारले नसकेको भनेपछि सरकार र रास्वपाप्रति लगानीकर्ता आक्रामक देखिन थालेका हुन् ।

लगानीकर्ता रामकृष्ण खायमालिले फेसबुकमा यस्तो स्टाटस लेखेका छन्,
‘यो चुनावमा घण्टी छाप
मार्केटमा बिक्री चाप
ठूला माछा च्यापच्याप
लगानीकर्ताको आत्मविश्वास पत्तासाफ
पोर्टफोलियो भयो हाफ
यस्तै भए विदेशतिर टाप
कि कसो बालेन सा’प ?

रास्वपाको वाच पत्रको बुँदा नम्बर ३३ः
‘पूँजीबजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउन नियामक सुधार, प्रविधिमैत्री कारोबार प्रणाली तथा लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गरिनेछ । धितोपत्र ऐन, २०६३ मा आवश्यक संशोधन गरी धितोपत्र बोर्डको संरचना पुनर्गठन गर्दै पर्याप्त जनशक्ति, कार्यक्षमता अभिवृद्धि तथा आवश्यक स्वायत्तता दिइनेछ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको पुनर्संरचना गरी निजी क्षेत्रको शेयर सहभागिता बढाउने र प्रतिस्पर्धात्मक डिपोजिटरी सेवा विकास गरिनेछ । पूँजी बजारको तरलता, पारदर्शिता र जोखिम व्यवस्थापन क्षमता अभिवृद्धि गर्न, स्पष्ट कानुनी संरचना र कडा नियमनसहित इन्ट्रा–डे कारोबार, सर्ट सेलिङ तथा फ्युचर्स, अप्सन लगायतका डेरिभेटिभ वित्तीय उपकरणहरू चरणबद्ध रूपमा सुरु गरी नेप्सेलाई अन्तर्राष्ट्रिय स्तरको बनाइनेछ । इन्साइडर ट्रेडिङ र बजार हेरफेरविरुद्ध शून्य सहनशीलताको नीति लागू गरिनेछ । आईपीओ प्रणालीमा आमूल सुधार गरी निष्पक्ष बाँडफाँट, बुक बिल्डिङ सुधार र समयमै सूचीकरण गर्ने व्यवस्था मिलाइनेछ ।’

वाचापत्रको बुँदा नम्बर ३४ः
‘संस्थागत लगानीकर्ताको विस्तार गर्न पेन्सन फन्ड, बीमा, म्युचुअल फन्ड, आदि संस्थाहरूलाई सक्रिय लगानी गर्न प्रोत्साहन र सहजीकरण गरिनेछ । पूँजी बजारको नीति स्थिर र लगानीमैत्री हुनुपर्ने भन्दै ऋण बजार र बन्ड बजारको विकास गर्न सरकारी, स्थानीय निकाय तथा निजी क्षेत्रका बन्डलाई सक्रिय बनाइ पूर्वाधार विकासका लागि इन्फ्रास्ट्रक्चर बन्ड तथा दीर्घकालीन परियोजनामा पूँजी जुटाउने वैकल्पिक साधनको विकास गरिनेछ । वर्षौँदेखि रोकिएको गैर–आवासीय नेपालीलाई नेप्सेमा कारोबार गर्न सहज नीति तर्जुमा गरिनेछ । वस्तु विनिमय बजार यथाशीघ्र सञ्चालनमा ल्याइनेछ र त्यसका लागि पब्लिक वेयरहाउजिङ ऐन जारी गरिनेछ । विभिन्न किसिमका फन्ड, डेरिभेटिभ बजार तथा जोखिम व्यवस्थापन उपकरणहरूको विकास गरी पूँजी बजारलाई आधुनिक र विविधीकृत बनाइनेछ । साना लगानीकर्ताहरूको हित रक्षाका लागि वित्तीय साक्षरता अभियान सञ्चालन गर्नुका साथै सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको पारदर्शिता र सुशासन सुनिश्चित गर्न ‘स्वचालित रिपोर्टिङ प्रणाली’ अनिवार्य गरिनेछ । पूँजी बजारलाई केवल काठमाडौंकेन्द्रित नबनाई डिजिटल माध्यमबाट देशभरका नागरिक र युवा पुस्ताको सहज पहुँच पुर्याउँदै यसलाई देशको अर्थतन्त्रको वास्तविक ऐना र पूँजी निर्माणको प्रमुख आधारका रूपमा विकास गरिनेछ ।’

रास्वपाका आकर्षक वाचाहरू पढेर लगानीकर्ताले रास्वपालाई साथ दिएका थिए । रास्वपाले झण्डै दुई तिहाइ बहुमतको सरकार चलाइरहँदा ती वाचाहरू व्यवहारमा लागू भएर बजारमा उछाल आउनुपर्नेमा उल्टो प्रतिक्रिया बजारले देखाइरहेको छ ।

बजार बढ्ने आशमा रहेका लगानीकर्ता पीडा लुकाएर सामाजिक सञ्जालमा ठट्यौली पारामा प्रस्तुत हुँदैछन् भने रास्वपाको केन्द्रीय कार्यालयमा धर्ना दिन पनि अग्रसर हुन थालेका छन् ।

हिजो रास्वपाको केन्द्रीय कार्यालयमा पूँजी बजारप्रति सरकारको स्पष्ट धारणाको माग राख्दै धर्ना दिन शेयर लगानीकर्ता पुगे पनि सुरक्षाकर्मीले धर्नामा बस्न दिएन । जसलाई लगानीकर्ताले सरकारको निरङ्कुश शैली भनेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments