विराटचोकः जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ ।
जसका कारण सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थान तथा लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
आज राति देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका केही स्थान तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



