विराटचोकः नयाँ सरकार गठनको अघिल्लो दिन हिजो बिहीबार नेपाली शेयरबजार परिसूचक नेप्से १४.२१ अङ्कले बढेर २९५०.१६ बिन्दुमा अडिएको छ । ० दशमलव ४३ प्रतिशतले सूचक बढेको बजारमा ३४२ कम्पनीको ३ करोड ४ लाख ३८ हजार ३०५ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १६ करोड २२ लाख ९८ हजार ७१७ रुपैयाँको शेयर कारोबार भएको छ ।
१० उपसूचक बढ्दा सर्वाधिक बढ्नेमा जलविद्युत समूह परेको छ । १.५६ प्रतिशतले सो समूह वृद्धि हुँदा उत्पादन तथा प्रशोधन समूहको १.५० प्रतिशत बढेको छ ।
होटल तथा पर्यटन समूह ०.८१ प्रतिशत, लगानी समूह ०.५१ प्रतिशत, बैंकिङ समूह ०.३७ प्रतिशत, फाइनान्स समूह ०.१७ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.२० प्रतिशत, निर्जीवन बीमा समूह ०.४३ प्रतिशत र अन्य समूह ०.६५ प्रतिशतले बढेको छ ।
व्यापार समूह सर्वाधिक २.८४ प्रतिशतले घट्दा विकास बैंक समूह ०.०५ प्रतिशत र जीवन बीमा समूह ०.०४ प्रतिशत घटेको छ ।
बढेको बजारमा पाँच कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रो, होटल फरेस्ट इन, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, नेशनल हाइड्रोपावर, रिडी पावर उच्च मूल्य बढ्ने कम्पनीमा परेका छन् ।
बजार बढे पनि पन्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ७.४८ प्रतिशतले सम्पत्ति गुमाए । सिन्धु विकास बैंकको ३.५८ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.२४ प्रतिशत, विशाल बजार कम्पनीको ३.०४ प्रतिशत, एनआइबीएल ग्रोथ फण्डको २.६० प्रतिशत, एनआइबीएल समृद्धि फण्ड–२ को २.५५ प्रतिशत, सिटिजन्स सन्तुलित योजनाको २.३५ प्रतिशत, सालपा विकास बैंकको २.०९ प्रतिशत मूल्य घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ५० खर्ब ९ अर्ब ३८ करोड ३४ लाख १० हजार ६०१ रुपैयाँ कायम भएको छ ।





