विराटचोकः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि मूल्य वृद्धि गरेको ११ दिन नबित्दै निगमले आजदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँका दरले बढाएको हो ।
बुधबार साँझ एक सूचना जारी गर्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेको जनाएको हो । यसअघि निगमले १ चैतमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो ।
निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ तोकेको छ ।
दोस्रो वर्गमा डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ तोकेको छ ।
पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्दछन् ।
दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल डिपो पर्दछन् ।
निगमका अनुसार मार्च महिनाका २४ दिनमा पेट्रोलको मूल्यमा प्रतिलिटर ७६ रुपैयाँ र डिजेलमा प्रतिलिटर १४३ रुपैयाँ मूल्य बढेको छ ।





