विराटनगरः चैत लागेसँगै मोरङका ४ वटा पालिकाका फार्ममा बर्ड फ्लु पुष्टि भएको छ । कुखुरामा लाग्ने घातक बर्डफ्लू संक्रमण मोरङका फैलिएपछि किसान र उपभोक्तामा त्रास छाएकोे छ ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख अजयकुमार साहका अनुसार आइतबार विराटनगर महानगरपालिका–४ स्थित दाहाल कृषि फर्ममा संक्रमण पुष्टि भएको छ ।
यसअघि सुन्दरहरैँचा–४ को हलेसी महादेव कृषि फार्म र बुढीगंगा कृषि फार्म, उर्लाबारी–८ को अँठियावारी कृषि फार्म, कटहरी–२ को ई टु जेड पोल्ट्री फार्म र कटहरी–६ को कामख्या पोल्ट्री फार्ममा संक्रमण पुष्टि भएको थियो ।
संक्रमण फैलिन नदिन संक्रमित फार्मका सबै कुखुरा, अण्डा, दाना, ओछ्यान तथा अन्य सामग्री नष्ट गर्ने काम भइरहेको छ । विराटनगरस्थित दाहाल कृषि फार्ममा कुखुराजन्य उत्पादन नष्ट तथा व्यवस्थापन गर्न बाँकी रहेको र अन्यत्रको व्यवस्थापन भइसकेको कार्यालयले जनाएको छ ।





