विराटचोकः आज चैत १० गतेदेखि कालङ्गा हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये १४ करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन हुन लागेको हो ।
सोमध्ये ९ लाख १० हजार कित्ता शेयर आयोजनाको अति प्रभावित क्षेत्र बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका वडा नं. ४ र ५, बित्थडचिर गाउँपालिका वडा नं. ६ र ८, बुङ्गल नगरपालिकाको वडा नम्बर ३, ४, ६, ८ र ५, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नं. १ र २ तथा दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका वडा नं. १ का स्थायी बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ । ४ लाख ९० हजार कित्ता शेयर बझाङ, जिल्लाको केदारस्यूँ गाउँपालिका, बित्थडचिर गाउँपालिका र बुङ्गल नगरपालिका, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका र दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाको अतिप्रभावित क्षेत्रमा नपरेका बाँकी वडाहरूका स्थानीय बासिन्दाहरूमा बाँडफाँट गरिने जनाइएको छ ।
सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ३ करोड ५० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ५० हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन हुने भएको हो ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन बन्द छिटोमा चैत २४ गते हुनेछ भने ढिलोमा २०८३ बैशाख ९ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन बन्द छिटोमा चैत १५ गते र ढिलोमा चैत २४ गते हुनेछ ।
सो कम्पनीले सञ्चालन गरेको १५.३३ मेगावाटको कालङ्गागाड जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब ३३ करोड ९३ लाख ४२ हजार ३१० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २८ करोड ३० लाख ६२ हजार १२० रुपैयाँ रहेको छ । सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २५ वर्ष १ महिना बाँकी रहेको छ । यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.२९ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १८.०१ वर्ष रहेको छ । सो आयोजनाबाट २०७९ माघ २७ गतेदेखि व्यावसायिक उत्पादन भइरहेको छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजनास्थल कार्यालय, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको केदारस्यूँ १ शाखा, ग्लोबल आइएमई बैंकको जयपृथ्वी नगरपालिका १०, बझाङ, गोकुलेश्वर, शैल्यशिखर ९, दार्चुला शाखा, कुमारी बैंकको छबिसपाथिभारा गाउँपालिका, बझाङ र डिलासिनी गाउँपालिका, बैतडी शाखा तथा कृषि विकास बैंकको बुङ्गल नगरपालिका ४, बझाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले शेयर खरिद दरखास्त फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि आस्बा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी पनि आवेदन दिन सकिने बताइएको छ ।





