काठमाडौंः आज बिहान साढे १ बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैसीगौडास्थित पृथ्वी लोकमार्गमा ग २ ख १४२१ नम्बरको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ जना पुगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
अनियन्त्रित भएर २०० मिटर तल त्रिशुली नदी किनारामा बस खसेर दुर्घटना हुँदा मृत्यु भएका १९ जनामध्ये ९ जनाको सनाखत भएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा २४ वर्षीय बेलायती नागरिक स्टिवर्ट डोमिनिक इथनको मृत्यु भएको छ ।
त्यस्तै, पोखराका ४० वर्षीय विवेक बास्तोला, स्याङ्जाका ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँका ४० वर्षीय ओमकुमार मल्ल, धादिङका ३० वर्षीय इन्जिनियर ठकुरी, तनहुँकी ५५ वर्षीया विष्णुमाया ढकाल, काठमाडौंका ४२ वर्षीय लोप्साङ गोले, तनहुँका ४५ वर्षीय हरिप्रसाद सिग्देल र पाल्पाका ५५ वर्षीय नविन्द्र श्रेष्ठको मृत्यु भएको छ ।
अन्य मृतकको सनाखत हुन सकेको छैन । सनाखत हुन नसकेकामध्ये एक जनाको दाहिने हातको नाडीमा रोहित र अर्काको नाडीमा चमेरो र गितारको ट्याटु खोपिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १ जना विदेशीसहित १४ जनाको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।







