विराटचोकः नेपाली कांग्रेसले मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत पर्ने सुन्दरहरैंचाका वडा नम्बर २, ३, ४, ५, ६ र ७ मा प्रचारप्रसार समितिको वडा कार्यालय स्थापना गरेको छ । त्यस्तै सुन्दरहरैंचाका लागि सम्पर्क तथा कार्यालय सुन्दरहरैंचा–३ गछियामा स्थापना गरेको छ । सुन्दरहरैंचा–३ नेपाली कांग्रेसका नेता रमेशजंग रायमाझी तथा क्षेत्रीय सभापति देवराज तामाङको गृह वडा हो ।
हिजो ती सबै वडा कार्यालयको उद्घाटन मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका उम्मेद्वार रहनुभएका डा. शेखर कोइरालाले गर्नुभएको हो । वडा नम्बर २ को मृगौलिया, वडा नम्बर ३ को गछिया, वडा नम्बर ४ को दुलारी, वडा नम्बर ५ को बाँसबारी, वडा नम्बर ६ को सुन्दरपुर र वडा नम्बर ७ को कार्यालय गोठगाउँमा स्थापना भएका हुन् ।
वडा कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उम्मेद्वार डा. शेखर कोइरालाले विगतमा आफूबाट भएका र नेपाली कांग्रेसका नेता, कार्यकर्ताबाट भएका गल्ती बिर्सेर कांग्रेसलाई जिताउन अनुरोध गर्नुभयो । कांग्रेसले गरेका कामको प्रचार हुन नसक्दा नेपाली कांग्रेसले ती कामको जस लिन नसकेको हुनाले सामाजिक सञ्जालमा पनि अभ्यस्त हुन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका समानुपातिक उम्मेद्वार प्रमिला गच्छदार तथा रुकमिणी कोइरालाका साथै नेपाली कांग्रेस कोशी प्रदेशका उपाध्यक्ष उद्धव थापा, वासुदेव कोइराला, क्षेत्रीय सभापति देवराज तामाङलगायतको उपस्थिति थियो ।
उर्लाबारीमा कांग्रेसले स्थापना गर्याे मोरङ क्षेत्र नम्बर १ को सम्पर्क कार्यालय







