भोजपुरः किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले टेम्केमैयुङ गाउँपालिकाले ‘एक घर एक करेसाबारी’ कार्यक्रम अघि बढाएको छ । व्यावसायिक कृषिका माध्यमबाट किसानको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालनको तयारी गरिएको पालिकाले जनाएको छ ।
कार्यक्रममा सहभागी किसानलाई प्लास्टिक टनेल, सिँचाइका लागि पाइप तथा तरकारी उत्पादनका लागि उन्नत जातका बीउबिजन वितरण गरिने कृषि विकास शाखाले जानकारी दिएको छ ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार किसानलाई व्यावसायिक तथा उद्यमशील बनाउने उद्देश्यले ‘एक घर एक करेसाबारी’ अवधारणाअनुसार कार्यक्रम लागू गरिएको हो । सो कार्यक्रमले किसानलाई तरकारीखेतीमार्फत् आयआर्जन गर्न थप सहज बनाउनेछ ।
टेम्केमैयुङ गाउँपालिकाका नौवटै वडामा सञ्चालन हुने कार्यक्रम सञ्चालनका लागि किसानसँग प्रस्ताव आह्वान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जनाउनुभएको छ । प्रदेश सरकारबाट प्राप्त रु १० लाख सशर्त अनुदानमार्फत कार्यक्रम सञ्चालन हुने भएको हो ।
गाउँपालिकाको कृषि विकास शाखामार्फत सञ्चालन हुने कार्यक्रममा इच्छुक किसान, कृषि फार्म, समूह तथा सहकारीले प्रस्ताव पेस गर्न सक्नेछन् । व्यावसायिक तरकारीखेती गर्न चाहने किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराइने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । आर्थिक, सामाजिक तथा भौगोलिक रूपमा पछाडि परेका वर्ग, महिला तथा दलित किसानलाई प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ ।
कम्तीमा दुई सय वर्गमिटर (६ आना) क्षेत्रफलमा तरकारीखेती गर्दै आएका किसान कार्यक्रमका लागि योग्य मानी प्राथमिकतामा पर्ने भएका छन् । ‘एक घर एक करेसाबारी कार्यक्रम सञ्चालन कार्यविधि, २०८२’ अनुसार कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।







