इटहरीः इटहरीस्थित प्रिमियर कलेजमा पत्रकार सम्मेलन गरी सुनसरीका निजी विद्यालय सञ्चालकहरूले जेनजी आन्दोलनका क्रममा विद्यार्थीलाई आन्दोलनमा पठाएर तोडफोड तथा आगजनी गर्न उक्साएको भन्ने इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलको आरोपको खण्डन गरेका छन् ।
नगरप्रमुख पौडेलका अभिव्यक्तिहरू कपोकल्पित, आधारहीन र पूर्वाग्रही भएको दाबी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीले गरेको हो । सार्वजनिक रूपमा लगाइएका आरोपको प्रमाण प्रस्तुत गर्न नगरप्रमुखलाई हिसानले चुनौति दिएको छ ।
नगरप्रमुख पौडेलले भदौ २३ र २४ गते भएको देशव्यापी जेनजी आन्दोलनका क्रममा इटहरीमा मात्र तोडफोड र आगजनी भएको दाबी गर्दै त्यसका लागि निजी विद्यालय सञ्चालकहरूले स्कुल बसमार्फत विद्यार्थी ओसारेर आगजनी गर्न उक्साएको आशयका अभिव्यक्ति दिँदै आएका छन् ।
आन्दोलन देशव्यापी भएको र इटहरीलाई मात्र केन्द्रमा राखेर निजी विद्यालयमाथि दोष थोपर्नु अन्यायपूर्ण भएको हिसानको भनाइ छ । हिसान सुनसरीका अध्यक्ष तथा केन्द्रीय सदस्य सागर भट्टराईले निजी विद्यालयले आफ्ना विद्यार्थीलाई कुनै पनि अवाञ्छित गतिविधिमा संलग्न गराएको प्रमाण भए सार्वजनिक गर्न माग गरेका छन् ।
नगरप्रमुख पौडेलका अभिव्यक्ति निरन्तर दोहोरिन थालेपछि पहिलो पटक संगठित रूपमा हिसान सुनसरीले त्यसको खण्डन गरेको हो ।
हिसानका केन्द्रीय उपाध्यक्ष मुकुन्द घिमिरेले नगरप्रमुख पौडेलले कपोलकल्पित आरोप लगाएर निजी विद्यालय सञ्चालकहरूलाई जबर्जस्ती दोषी करार गर्न खोजेको टिप्पणी गरे ।
केन्द्रीय सचिव बलराम पन्तले विद्यालयको नाम जोडेर गरिएको निराधार आरोपले शैक्षिक क्षेत्रलाई बदनाम गर्ने काम भएको बताएका छन् ।







