गोठगाउँः कादम्बिनी कृषि सहकारी संस्था लि. सुन्दरहरैंचा–७ को १३ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह आलेमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । ज्येष्ठ नागरिक सम्मानतर्फ शेयर सदस्य बिष्णु बञ्जाराकी आमा हीरादेवी बञ्जारा, असल ऋणी प्रमिला श्रेष्ठ, उत्कृष्ट गाईपालक इन्दिरा अधिकारी, उत्कृष्ट केराखेतीतर्फ कौशिला बजगाईँ र सर्वाधिक बाल बचतकर्तातर्फ शेयर सदस्य युवराज दाहालका छोरा युगल दाहाललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष कपिलराज दाहालले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा लेखा सुपरीवेक्षण समिति संयोजक खेमचन्द्र अधिकारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन सचिव मिलन लुइँटेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष शर्मिला आचार्यले राख्नुभएको थियो ।







