विराटचोकः आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी सरकारले देशभर करिब १ लाख ३४ हजार म्यादी प्रहरी परिचालन गर्ने भएको छ ।
प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९ सय ८० जनाको भर्ना प्रक्रिया शुरु गर्दै दरखास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिले हिजो शुक्रबारदेखि एक हप्ताभित्र सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूमा गएर आवेदन दिन सक्ने बताइएको छ ।
साधारण लेखपढ गर्न सक्ने १८ देखि ५४ वर्ष उमेर समूहका नेपाली नागरिकले आवेदन दिन पाउने भएका छन् । जसका लागि पुरुषको उचाइ कम्तीमा ५ फिट र तौल ५० केजी तथा महिलाको उचाइ ४ फिट १० इन्च र तौल ४२ केजी हुनुपर्ने प्रावधान छ । पूर्व नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र वनरक्षकबाट अवकाश पाएका व्यक्तिहरूलाई भर्ना प्रक्रियामा प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।
४० दिनको सेवा अवधिका लागि छनोट भएका म्यादी प्रहरीले नेपाल प्रहरीका जवानको सुरु तलब स्केल सरह दैनिक ८ सय ६९ रुपैयाँ ४० पैसाका दरले कुल ३४ हजार ७ सय ७६ रुपैयाँ पारिश्रमिक पाउनेछन् । यसका अतिरिक्त उनीहरूले रासन बापतको रकम सम्बन्धित जिल्लाको दररेट अनुसार, गाडी भाडा एकमुष्ट ८ सय ४६ रुपैयाँ र ४ दिनको खाजा खर्च १ हजार २ सय रुपैयाँ प्राप्त गर्नेछन् । पोसाक बापतको रकम पनि प्रहरी प्रधान कार्यालयले तोकेको दररेट अनुसार उपलब्ध गराइने र सबै रकम व्यक्तिको व्यक्तिगत बैंक खातामा जम्मा गरिने सूचनामा उल्लेख छ ।
माघ ५ गतेदेखि ९ गतेसम्म छनोट प्रक्रिया हुने जनाइएको छ । कर्तव्य पालनाको सिलसिलामा घाइते भएमा उपचार खर्च र मृत्यु भएमा आश्रित परिवारले सरकारबाट तोकिए बमोजिमको क्षतिपूर्ति पाउने व्यवस्था गरिएको छ ।
कुनै कारणले करार अवधि नसकिँदै काम छाड्नुपर्ने परिस्थिति आएमा २० दिन वा सोभन्दा बढी काम गरेका म्यादी प्रहरीले काम गरेको दिनसम्मको सेवा सुविधा पाउने र निर्वाचन स्थगित वा रद्द भएमा भने नियुक्ति स्वतः रद्द हुने र अन्य प्रक्रियाहरू ’एकीकृत कार्यविधि–२०८२’ अनुसार हुने सूचनामा उल्लेख छ ।







