इटहरीः एनआईसी एशिया बैंकले इटहरी शाखाका कर्मचारीमाथि भएको दुर्व्यवहारप्रति खेद व्यक्त गर्दै दोषीलाई कारवाही गर्न र कर्मचारीको सुरक्षा गर्न प्रशासनसँग माग गरेको छ ।
बैंकमा कार्यरत कर्मचारीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बैंकले जनाएको छ । बैंकले यस्तो गैरकानूनी र उच्छृङ्खल गतिविधि संवेदनशील बैंकिङ्ग स्थलमा स्वीकार्य नभएको स्पष्ट पारेको छ ।
कार्यालयभित्र हुलहुज्जत, होहल्ला, आगजनी वा जिउज्यानमा हानि पुर्याउने उद्देश्यले पेट्रोलजस्ता अति प्रज्वलनशील पदार्थ प्रयोग गर्न खोज्नुले कर्मचारीहरुसँगसँगै समग्र बैंकिङ्ग क्षेत्रमा असुरक्षित वातावरण सिर्जना गरेको हुनाले यस प्रकारका कार्यकलापले मुलुकको आर्थिक विकासमा ठूलो योगदान पुर्याइरहेको बैंकिङ्ग क्षेत्रमा नकारात्मक असर पुग्ने तथा काम गर्ने वातावरणमा समेत गम्भीर प्रभाव पार्ने बैंकले जनाएको छ ।
कुनै पनि बहानामा कर्मचारीमाथि हुने यस्ता अभद्र व्यवहार सह्य नहुने बैंकले स्पष्ट पारेको छ । यस घटनामा संलग्न व्यक्तिविरुद्ध सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरी प्रचलित कानून बमोजिम कारबाही गर्न र बैंक तथा कर्मचारीहरुको सुरक्षा कायम गर्न बैंकले अनुरोध गरेको छ ।
बैंकमा कार्यरत कर्मचारीमाथि केही व्यक्तिले कार्यालयमा पेट्रोल छर्किने प्रयास गरेपछि बैंकले प्रमुख सूचना अधिकारी जयन्द्र रावलको हस्ताक्षरमा विज्ञप्ति जारी गरेको हो ।







