Tuesday, December 30, 2025
Homeकला र साहित्यआज कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्ती

आज कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्ती

विराटचोकः आज पुस १५ गते । आज नेपाली साहित्यका कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्ती हो । पौड्यालको जन्मजयन्ती विविध कार्यक्रम गरी देश तथा विदेशमा मनाइन्छ ।

लेखनाथ पौड्यालको जन्म वि. सं. १९४१ पुस १५ गते कास्कीको अर्घौअर्चलेमा भएको थियो । वि. सं. २००८ असार २९ गते पौड्याललाई राजा त्रिभुवनले कवि शिरोमणिको पदवी र मासिक दुई सय रुपैयाँ आजीवन भत्ताको व्यवस्था गर्नुभएको थियो ।

२०११ पुस २० गते पौष शुक्ल एकादशीका दिन उहाँको जन्म तिथि पारेर रथयात्रा गरी नागरिक अभिनन्दन गरिनुका साथै पाँच हजार रुपैयाँ पनि प्रदान गरिएको थियो । रथयात्रा लैनचौर चौताराबाट शुरु भएर ऐतिहासिक टुँडिखेल खरीबोट पुगेर टुङ्गिएको थियो ।

पण्डित दुर्गादत्त पौड्याल र माता वसुन्धरादेवी पौड्यालका पुत्र लेखनाथको प्रारम्भिक शिक्षा पाँच वर्षको उमेरमा घरबाटै आरम्भ भयो । थप अध्ययनका लागि १५ वर्षको उमेरमा उहाँ काठमाडौँको रानीपोखरी संस्कृत पाठशालामा भर्ना हुनुभएको थियो । त्यहाँ मध्यमासम्म अध्ययन गरे पनि परीक्षामा सफल हुन नसकेपछि उनको औपचारिक अध्ययनमा पूर्णविराम लागेको थियो ।

साहित्यप्रतिको कदरस्वरूप पौड्याललाई मरणोपरान्त ०२६ सालमा त्रिभुवन प्रज्ञा पुरस्कार प्रदान गरिएको थियो । वि. सं. २०२२ साल फागुन ७ गते शिवरात्रिको दिन उहाँको देहावसान भएको थियो ।

२०१४ सालमा स्थापित नेपाल एकेडेमीमा उहाँ पनि नियुक्त हुनुभएको थियो । २०१९ सालमा उहाँको नाम र चित्रअङ्कित १५ पैसाको हुलाक टिकट प्रकाशित गरिएको थियो ।

कवि शिरोमणि पौड्यालले १५ वर्षकै उमेरदेखि कविता लेख्न थाल्नुभएको थियो । गोठालो जाँदा काका नाता पर्ने पितृप्रसादको हतोत्साह र रानीपोखरी संस्कृत छात्रावासमा बस्दा अग्निधर शर्माको तिरस्कारले साहित्यमा लाग्न प्रेरित गरेको बताइन्छ । वि. सं. १९६१÷६२ सालमा ‘कविता कल्पद्रुम’ भित्रका शृङ्गार पच्चीसी र मानषाकर्षिणीबाट उहाँको कविता लेखन आरम्भ भएको मानिन्छ ।

नेपाली साहित्यमा कवि शिरोमणि उपाधिले सम्मानित पौड्यालका ऋतु विचार, बुद्धिविनोद, सत्यकलि संवाद, सत्यस्मृति, मेरो राम, त्याग र उदयको सन्देश, गीताञ्जली, तरुण तपसी, लक्ष्मीपूजा, लालित्यलगायतका काव्य र कविता प्रकाशित छन् ।

उहाँको जन्मजयन्तीको अवसर पारेर आज देश तथा विदेशमा विभिन्न साहित्यिक गतिविधि हुने गर्दछन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments