काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आइतबार मध्यरातसम्म भएको एकता वार्ता विफल भएको छ । आज बिहान अन्तिम प्रयास हुने बताइएको छ ।
निर्वाचन आयोगमा समानुपातिक उम्मेद्वारको बन्दसूची पेश गर्ने आज अन्तिम दिन भएकाले मिलनको अन्तिम प्रयास हुने बताइएको छ । यसअघि भएका छलफलमा प्रगति नभएपछि आइतबार बिहान रवि र बालेनबीच एकताको सात बुँदे सम्झौता भएको थियो ।
सो सम्झौतापछि जेनजी युवा अगुवाहरुले कुलमानसँग पनि मिल्न दबाब सिर्जना गरेपछि उनीसँगको छलफलले आइतबार पनि निरन्तरता पाएको थियो । तर पार्टीमा कुलमानलाई कुन पद दिने भन्ने विषयमा कुरा नमिलेको हो । कुलमानलाई मिल्नका लागि दबाब दिन केही जेनजी युवा मध्यरात पनि कुलमानको घर गएका थिए ।
पार्टीमा सहअध्यक्ष पाउनुपर्ने वा प्रधानमन्त्री आलोपालो हुनुपर्ने कुलमानको मागमा रवि–बालेन तयार नभएकाले सहमति नजुटेको बताइएको छ । आइतबार पोखराको जिल्ला भेलामा कुलमानले नयाँ दलहरु मिल्नुपर्नेमा जोड दिएका थिए । त्यसका लागि सम्मान र स्वाभिमान नमेटाइकन सबैसँग सहकार्य गर्न तयार रहेको बताएका थिए ।







