लेटाङः लेटाङ–४ स्थित शान्ति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले ३९० घण्टे प्राविधिक तालिम सञ्चालनमा ल्याएको छ । एसी तथा फ्रिज मर्मत, जुनियर वेल्डिङ, इलेक्ट्रिसियन र प्लम्बिङ विषयका तालिम शुरु भएका हुन् ।
शान्ति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष सुदेश वस्तीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा लेटाङ–४ का वडाअध्यक्ष रामकुमार श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शाखाका अधिकृत, शान्ति भगवती माविका प्रधानाध्यापक होमनाथ पौडेल, रिड नेपालका प्रबन्ध निर्देशक चिनकाजी श्रेष्ठ, एसभिए नेपालका प्रतिनिधि डा. गणेश लामा तथा म्यारिड टेक्निकल इन्स्टिच्युटका प्राविधिक सुदर्शन दाहाल, प्रशिक्षकहरू ईश्वर थापा, जगदीश चौधरी र रबिन लिम्बूलगायतको उपस्थिति थियो ।
सो तालिम अन्तर्गत सहभागीहरूले सम्बन्धित विषयमा सैद्धान्तिक तथा व्यावहारिक दुवै प्रकारका ज्ञान हासिल गर्नेछन् । आयोजकका अनुसार तालिम सफलतापूर्वक सम्पन्न गर्ने प्रशिक्षार्थीहरूलाई आगामी दिनमा अन्य तालिम कार्यक्रममा प्रशिक्षकका रूपमा अवसर प्रदान गरिनेछ ।
उद्घाटन कार्यक्रम सञ्चालन मानस विश्वकर्माले गर्नुभएको थियो । शृतिदेवी राईले स्वागत मन्तव्य राख्नुभएको थियो ।







