तरहराः यही पुस ५ गतेदेखि पुस १२ गतेसम्म तरहरास्थित बहुभाषी खेलमैदानमा योङ ब्वाइज फुटबल क्लबको आयोजनामा तरहरा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
आयोजकले पत्रकार सम्मेलनमार्फत् दिएको जानकारीअनुसार गोल्डकपमा आरआईसी काठमाडौं, पञ्चायत फुटबल क्लब, उदयपुर फुटबल क्लब, पानबारी फुटबल क्लब, केराबारी फुटबल क्लब, योङ ब्रदर्स फुटबल क्लब, योङ ब्वाइज फुटबल क्लब, खरखोला फुटबल क्लब र वराहक्षेत्र फुटबल क्लब गरी ८ टिम सहभागी बन्ने छन् ।
प्रतियोगिताको विजेता टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता लगायत विधागततर्फ प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने खेल संयोजक मनोज तामाङले जानकारी दिनुभयो ।
क्लबले तरहरा क्षेत्रमा खेलकुद गतिविधि विस्तार गर्ने र स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्दै तरहरालाई सक्रिय खेलकुद केन्द्रको रूपमा विकास गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागेको क्लबका अध्यक्ष मोहन लिम्बूले बताउनुभयो ।







