विराटचोकः लोकेश बम र मार्टिन गप्टिलको शतकीय साझेदारीसँगै कीर्तिमान कायम भएको नेपाल प्रिमियर लिग (एनपीएल)को खेलमा विराटनगर किङ्सले शानदार जीत हात पारेको छ ।
मंगलबार सम्पन्न खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको हो । विराटनगर किंग्सले दिएको २२१ रनको लक्ष्य पछ्याएको पोखराले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन मात्र बनायो । एनपीएल इतिहासकै सबैभन्दा ठूलो लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले सो लक्ष्य पूरा गर्न नसक्दा हार बेहोर्नुपरेको हो ।
पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए । ३१ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे । ओपनर एडम रोसिङ्टनले ३९ रन बनाए ।
विराटनगरका प्रतीश जिसी, मर्चेन्ट डे लाङ्गे, शुभम रञ्जिते र सन्दीप लामिछानेले समान दुईदुई विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२० रन बनाएको थियो ।
विराटनगरका ओपनर लोकेशले सर्वाधिक ७२ रन बनाएका थिए । ४८ बल खेलेका उनले १ चौकासहित ७ छक्का प्रहार गरे । गप्टिलसँग उनले शतकीय साझेदारी गरे । मार्टिनले ३५ बलमा ३ चौका र ५ छक्कासहित ६१ रन बनाए ।
शुभम रञ्जनेले ३८, बसीर अहमदले २३ रन बनाउँदा नरायण जोशी ११ रनमा अविजित रहेका थिए ।
पोखराका म्याट टेलरले सर्वाधिक २ विकेट लिए । आकाश चन्द, सागर ढकाल र कुशल भुर्तेलले समान एकएक विकेट लिएका थिए ।







