Friday, December 5, 2025
Homeधर्म र संस्कृतियस्तो छ बालाचतुर्दशीको धार्मिक तथा सांस्कृतिक महत्व

यस्तो छ बालाचतुर्दशीको धार्मिक तथा सांस्कृतिक महत्व

विराटचोकः प्रत्येक वर्ष मंसिर कृष्ण चतुर्दशीका तिथिमा वैदिक सनातन धर्मालम्बीहरूले मनाउने चाडपर्वमध्ये बालाचतुर्दशी पनि एक हो । बालाचतुर्दशीको सम्बन्ध पशुपतिनाथसँग रहेको छ ।

हिमवतखण्ड, नेपाल महात्म्य तथा शिवपुराणहरूले बाला चर्तुदशीको बारेमा वर्णन गरेका छन् । हिमवतखण्डको ४२ अध्यायमा यस पर्वको उत्पत्ति परम्पराको बारेमा के बताइएको छ भने मृगरूप लिएर भगवान् शिवले जहाँजहाँ घुमे, खाए, सुते, हिँडे र विहार गरे त्यो पुण्यक्षेत्र भएकाले त्यहाँ सप्तधान्य (शतबीज) छर्दा प्राणी मात्रको जीवन यापनका लागि चाहिने अन्य दान गर्ने मानव जातिले छरेको एक गेडा अन्न बराबर एक तोला सुनदान गरेको पुण्य मिल्ने धार्मिक विश्वास रहँदै आएको छ ।

शतबीज त्यस वर्ष दिवङ्गत भएका आफन्तको चीर शान्ति, मंगल र पुण्यको कामना गरी वन क्षेत्रमा छर्ने चलन छ । यो लगातार तीन वर्षसम्म छर्ने र तीन वर्षमा चर्तुष्ठी गरी होम गर्ने चलन नेपाली समाजमा अद्यावधिक रहँदै आएको छ ।

जनश्रुतिअनुसार कैलाशबाट भगवान् शिव श्लेष्मान्तक वनमा आई अत्यन्त आकर्षक मृगरूप धारण गरी वर्षाै वर्ष बितेको पत्तै भएन । माता पार्वतीलगायत समस्त देवीदेवताहरूलाई ज्यादै पिर पा¥यो । भोलेबाबा कहाँ छन् भनी दिव्य दृष्टिले हेर्दा त भगवान् मृगरूप धारण गरी पशुपति क्षेत्रमा वन विहार गरी रहेको देवी पार्वतीले थाहा पाइन् । शिवरूपी मृगलाई चिन्न र आकर्षित गर्न माता पार्वतीले विभिन्न किसिमका बीज छरिन् ।

केही हप्तापछि छरिएका बीजहरू उम्रिएर हरियो घाँस भएपछि मृगहरू लोभिएर आउन थाले । आएका मृगमध्ये मृगरूपी भोलेबाबालाई चिन्न माता पार्वतीलाई सजिलो भयो । यसरी देवी पार्वतीद्वारा शुरु भएको शतबीज छर्ने प्रथा कालान्तरमा जीवन संस्कृति वन यो र युग युगसम्म कायम भइराखेको छ, रहिरहने छ

शतबीज भन्नाले सात किसिमका चीजका गेडागुडीहरू भन्ने बुझिन्छ । शतबीजमा प्रयोग गरिने अन्नहरूमा गहुँ, सस्र्यू, मकै, जौ, धान, बयर, अमला र अन्य फलफूल तथा कन्दमूलका टुक्राहरू पर्दछन् ।

त्रयोदशीका दिन राती पशुपतिक्षेत्र खासगरी कैलाशको थाप्लामा दीप महादीप बालिदिएमा जीवात्मा कुनै कारणवश शून्यमा मार्ग नपाई अन्धकारमा भट्किरहेका भए पनि त्यस दीपको प्रकाशले मार्ग पाई पितृलोकमा जान सक्छन् र श्लेषमान्तक क्षेत्रमा शतबीज छर्दा एक गेडा अन्न बराबर एक तोला सुन दानको पुण्य मृतकलाई मिल्छ भन्ने धार्मिक जनविश्वास छ । यो पर्व नेपाली संस्कृतिको एक महत्वपूर्ण अंग हो र वैदिक सनातन धर्मावलम्बीहरूले यसलाई बढो हर्षोल्लासका साथ मनाइने गरेको पाइन्छ ।

पशुपतिनाथका साथै देशभरका शिव मन्दिरहरूमा आज शतबीज छर्ने गरिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments