लेटाङः नेपाल संवत् ११४६ न्ह्यु दयाँ भिन्तुनाको अवसरमा नेवाः देय दवु लेटाङ नगर समितिले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रममा तीन जना पत्रकारलाई सम्मान गरिएको छ ।
कार्यक्रममा लेटाङ खबरका सम्पादक प्रशान्त निरौला, मोरङ खबरका सम्पादक रेवती निरौला र लेटाङ सेरोफेरोका सम्पादक अर्जुन लिम्बूलाई पत्रकारिता क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरिएको हो ।
उनीहरूलाई लेटाङ क्षेत्रको पत्रकारिता र जनचेतनाको विकासमा लामो समयदेखि निर्वाह गरेको जिम्मेवारी र सेवाको प्रशंसा स्वरूप सम्मान गरिएको आयोजक समितिले जनाएको छ ।
कार्यक्रमको अध्यक्षता नेवाः देय दवु लेटाङका अध्यक्ष पुरण श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्रकुमार लावती रहनुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न सामाजिक तथा सांस्कृतिक संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र स्थानीयको उपस्थिति रहेको थियो ।







