विराटचोकः जेनजी पुस्ताले गरेको आन्दोलनको मारमा आफूले सञ्चालन गरेको होटलमा आगजनी भएपछि सुन्दरहरैंचाको नेपालीरिका होटलका निर्देशक आकाश दुलाल निजी क्षेत्रको लगानी खरानी हुँदा पनि सबै मूकदर्शक भएकोमा चिन्तित हुनुहुन्छ । व्यावसायिक कामको सिलसिलामा अमेरिकामा रहनुभएका जेन जी पुस्ताका दुलालले जेन जी आन्दोलनका क्रममा भएको तोडफोडपछि सामाजिक सञ्जालमा यसरी आफ्नो धारणा राख्नुभएको छ ।
६ महिनाको कलिलो शिशु अवस्थामा बुवालाई गुमाएर आमाको भरपोषण र रेखदेखमा हुर्किनु भएको मेरो बुवाको ३२ वर्षको अथक मेहनत, परिश्रम, लगाव र रगतको थोपाथोपाले सिञ्चित थियो नेपालीरिका होटल । जसलाई बुवाले सुन्दरहरैंचाको धरोहरको रूपमा निर्माण गर्नुभयो । हरेकपल्ट म बुवालाई विदेशमा लगानी गर्ने र विदेशमै व्यवसाय गर्नुपर्छ भनेर भन्ने गर्थे । जहाँ हामी सुरक्षित व्यवसाय गर्न सक्छौँ भन्थे । तर हरेक पल्ट बुवाले ‘जे गर्ने हो यही देशमा गर्ने हो । यही ठाउँमा गर्नुपर्छ’ भनिरहनुभयो र बुवाले म जेन–जी युवा पुस्तालाई यो हस्तान्तरण गरेर यसलाई चलाउने र अगाडि बढाउने जिम्मा दिनुभयो ।
व्यावसायिक कामका लागि अमेरिकाको न्युयोर्क सिटीमा छु । नेपाल फर्किनु अघि बुवाको कैयौँ प्रश्नको जवाफ दिनु छ । तर मसँग कुनै प्रश्नको उत्तर छैन । म निःशब्द छु । भावविभोर छु । मेरा वाक्य रोकिएका छन्, मेरा गलाहरू अवरुद्ध छन् । त्यसैले यी शब्दमार्फत् व्यक्त गर्दैछु । निदाउन खोज्छु सपनामा पनि ती प्रश्न घेरिएको छु आखिर किन भयो ? के का लागि भयो ? कसले गर्यो ? जसले गर्यो, उसले के पायो ?
म युवा हुँ । जेन–जी हुँ । बुबाले सपना र लक्ष्यलाई एकै ठाउँमा राखेर मलाई दिनुभएको नेपालीरिका होटल, होटल मात्र थिएन । यो सुन्दरहरैंचाको विकासको क्रम थियो, त्यहाँको शान थियो । यो केवल भौतिक संरचना मात्र थिएन, सबैको विश्वास अडेको गौरव थियो, तर हेर्दाहेर्दै त्यो खरानी भएर गयो । आगोको लप्काले नेपालीरिका जलिरह्यो । त्यहाँ इटा, माटो, ढुङ्गा, सामान मात्र जलेन एउटा उद्योगीको विश्वास, व्यवसायीको निष्ठा, समाजको विकास, प्रत्येक कर्मचारीको भरोसा र मेरो जो म आफूलाई जेनजी भन्छु, सपना सबै जलिरह्यो ।
जुन समाजमा बुबाले सबै कुरा लगानी मात्र गर्नुभएन, समाजलाई अगाडि बढाउन एउटा सोच दृढ सङ्कल्प र सबैलाई विश्वासमा लिएर, सबैलाई आफैसँग अगाडि बढाउनुभयो । हजार जनाभन्दा माथिलाई रोजगार दियौं, सरकारलाई जहिले कमाएको हिस्साको पारदर्शी तरिकाले तिरिरह्यो, आफूले कमाएको हिस्सालाई समाजमा लगानी गर्यो तर आज केही व्यक्तिले आवेगमा आएर, कोही व्यक्तिको व्यक्तिगत ईष्र्या र रिसले प्रगति र उन्नति देख्न नसक्ने मनोभावले गर्दा यो अराजक, अनैतिक विवेकहीन कार्य गर्नुभयो र गर्न उक्साउनुभयो । सुन्दरहरंैचाका लागि आफ्नो सम्पूर्ण युवा जीवनलाई त्यसैमा लगाउनुभयो । जसको परिणाम आज नेपालीरिका होटल जल्दै खरानी भयो ।
जेन–जीको आन्दोलन भ्रष्टाचारविरुद्ध अहिलेका यावत समस्या विरुद्ध थियो, न कि कसैको परिश्रम र प्रगतिको मेहनत र इमान्दारिताको विरुद्धमा थियो । तर, त्यहाँ सकारात्मक विचार दृढ सोच मेहनत परिश्रममा तपाईहरुले परेड खेलिरहनुभयो । ‘देश र समाजलाई दिनुपर्छ, आफू मात्र बनेर हुँदैन’, भन्ने पवित्र विचारमा तपाईहरुले आगोको ज्वालामुखी विस्फोटन गराउनु भो । सबै जना हेरिरहनुभयो । मूकदर्शक बनेर, साक्षी बनेर । अराजक मानिसहरूलाई कसैले रोक्नुभएन । हिंसालाई बढावा दिनुभो । व्यक्तिगत सम्पत्तिलाई ध्वस्त पार्ने मौन अनुमति दिनुभयो । सबै जना किन चुप रहनुभयो ? सुन्दरहरैंचाको एकबद्धता, सङ्कल्पमाथि कुठराघात भइरहँदा सबै अन्धो बनिदिनुभयो । सबै नसुन्ने, नदेख्ने जसरी बसिदिनुभयो । जहाँ सबैको विश्वास जलिरह्यो ।
हो, एक दिन तपाईँको आफ्नो पुस्ताले प्रश्न गर्नेछः
हजुरबुबा, किन त्यो दिन मौन बस्नुभयो ?
हजुरआमा, किन कराउनु भएन ?
बुवा, तपाईँले किन आगो लगाउनुभयो ?
आमा, त्यहाँ सरसामानहरू किन चोर्न उद्यत हुनुभयो ?
दिदी, त्यहाँका सिसाहरू फोड्नलाई किन अग्रसर हुनुभयो ?
दाइ, किन पर्खाल र ढोकाहरू फुटाउन प्रेरित गर्दै अगाडि बढ्नुभयो ?
नेपालीरिका होटल तपाईँहरू सबैले किन जलाउनुभयो ?
आज हजुरहरु नेपालीरिका होटल जल्दाको तातोले न्यानो महसुस तपाईँ निदाउनुभयो होला । हामी निदाउन सकेनौँ । म सुत्न सकिनँ । तर, यो प्रश्न तपाईँलाई तपाईंका पछिल्लो पुस्ताले गरेको दिन तपाईं त्यो तातो न्यानोमा पनि कठ्याङ्ग्रिनु हुनेछ, मनमा बेचैनी आउनेछ । पश्चातापले तपाईँलाई भतभत पोल्नेछ । त्यो दिन लाजले पनि तपाईँलाई देखेर लाज मान्नेछ ।
बुवा, म यति भन्न चाहन्छु । म हारेको छैन । म डगमगाएको छैन । नेपालीरिका होटलको प्रत्येक कोठाको खरानी बोकेर त्यसलाई शिरमा लाउँदै फेरि म उठ्नेछु । र यसलाई पुनर्निर्माण गर्ने छु । फेरि यसलाई चलाउनेछु । तपाईंप्रति म गर्व गर्छु । पीएलओ ग्रुप फेरि उठ्नेछ, हिमाल जस्तै अडिग र अटल रूपमा ।
उही तपाईंको छोरा,
आकाश दुलाल ।







