केपी घिमिरे
तिम्रा रहरहरूमा म कसरी अटाएँ हुँला
के सम्झेर सम्हाल्यौ होला मन
के देख्यौ होला मभित्र
आज वर्षौँपछि पनि मलाई मेरो भनेको सुनेँ ।
धेरैपल्ट साटिएँ
बाँडिएँ धेरैसँग
हाँस्ने, रुने र सताउने अरु पनि भेटेँ,
आफ्ना भन्नेहरू पनि थिए
आफ्ना लाग्नेहरू पनि थिए ।
मैले त बिर्सिसकेको थिएँ तिमीलाई
अनायास आँखा जुधेर रोकिएको हुँ
बाटो बिराएर भेटिएको हुँ तिमीसँग
चिनेजस्तो पनि बिर्सिएजस्तो पनि
मान्छे हौ तिमी
फगत दोबाटोको एक बटुवाझैँ मात्रै हौ तिमी
तर
एकनाश टोलाएर
भक्कानिएर
आत्तिएर
डराएर
चिच्याएर
बेजोड खुसीले आकाश छोएर
खिन्न भावले उदास भएर
मलाई मेरो भन्यौ
म उसैगरी कहालिएँ आफैँभित्र ।
सोच्दैछु,
म मेरो प्रेममा तिम्रा कसमको जीत सम्झौँ ?
कि तिम्रो प्रेममा मेरो कसमको जीत सम्झौँ ?
आखिर भेटिनु नै रहेछ,
यतिञ्जेल म जलेँछु
कि तिमीलाई जलाएँछु,
प्रश्नैप्रश्नको उत्तर कुन प्रश्नले दिन्छ ?







