सुन्दरहरैंचाः सबै शेयर खरीदका लागि आवेदन परेपछि हिमालयन रि इन्स्योरेन्स लिमिटेडले मंसिर २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओको बिक्री आज बन्द गर्ने भएको छ ।
कम्पनीले १० अर्ब रुपैयाँ जारी पूँजीको ३० प्रतिशतले हुन आउने तीन अर्ब रुपैयाँ बराबरको तीन करोड कित्ता शेयर जारी गर्ने अनुमति पाएको थियो । कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले शेयर निष्काशनमा ल्याएको हो ।
जसमध्ये २ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता शेयर निष्काशन गरि बाँडफाँड भइसकेको छ । कम्पनीले सामुहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर बाँडफाँड पनि गरिसकेको छ । बाँकी २ करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा राखिएको थियो ।
न्यूनतम १० देखि अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन पाइने सो आईपीओको बिक्री छिटोमा हिजो बन्द हुनुपर्ने थियो । तर तेस्रो दिनसम्म पर्याप्त आवेदन नपरेपछि कम्पनीले हिजो सूचना जारी गर्दै पुस ११ गतेसम्म आवेदन दिन सकिने जनाएको भए पनि चौथो दिनमा पूर्ण आवेदन परेपछि आज आईपीओ बिक्री बन्द हुने भएको हो ।
सो कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्राणालीमार्फत आवेदन दिन सकिनेछ ।