सुन्दरहरैंचाः सुन्दरहरैंचाको उत्कृष्ट विद्यालयको रुपमा रहेको सुकुना माध्यमिक विद्यालयले आफ्नो ५२ औं वार्षिकोत्सब मनाएको छ । तीन दिनसम्म मनाइने वार्षिक उत्सवको पहिलो दिन प्रमुख अतिथि कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ रहेका थिए । खापुङले देशकै उत्कृष्ट विद्यालय मध्येको एक सुकुनाले गरेको प्रगतिलाई कायम राखी विज्ञान र प्रविधिमा जोड दिनुपर्ने बताए । यस्तै विज्ञान र इन्जिनियरिङका विद्यार्थीले राखेका प्रदर्शनीस्थलको पनि उनले अवलोकन गरेका थिए ।
विशेष अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईले किताबी ज्ञान भन्दा पनि अबको उत्पादन बजारको माग अनुसारको हुनुपर्ने र त्यसमा सुकुना सफल भएको उल्लेख गरे । विद्यार्थी संख्याभन्दा शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेको कार्यक्रममा विभिन्न दाताद्वारा राखिएको अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो ।
कार्यक्रममा शिक्षक तथा विद्यार्थीले गीत, नृत्य र अन्य प्रतिभा प्रस्तुत गरेका थिए ।