मृगौलियाः शनिबार मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं २ मा रहेको लभ्ली एन्जल्स इङ्लिस बोर्डिङ स्कुलको २८ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख जीवन गड्तौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । गत वर्षको वार्षिक परीक्षामा पहिलो, दोस्रो र तेस्रो हुने तथा विद्यालयमा शतप्रतिशत हाजिर हुने विद्यार्थीलाई पनि कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा गोलाप्रथाद्वारा विद्यार्थीको नाम सार्वजनिक गरेर उनीहरुका अभिभावकलाई उपहार दिइएको थियो । कार्यक्रममा विद्यार्थीले आफ्ना विभिन्न प्रतिभा प्रस्तुत गर्नुका साथै शैक्षिक तथा विज्ञान प्रदर्शनी गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका कार्य समिति सदस्य तथा रेडियो सुसेलीका प्रबन्ध निर्देशक बाबुराम निरौलालाई सम्मान गरिएको थियो ।








